प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
२७ जेठ, काठमाडौं।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (PAN) तथा इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।
“आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आवद्ध गर्नुपर्ने भएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउन प्यान अनिवार्य रहेको छ । यो विवरण अद्यावधिक भएपश्चात् करकट्टीको विवरण (E-TDS) सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा विवरण मिलान गर्ने हुँदा ग्राहकहरूलाई करकट्टी र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनेछ, जसले गर्दा प्रमाणपत्र लिनकै लागि बैंकसम्म धाइरहनु पर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।
प्यान अद्यावधिक नगराएका कारण E-TDS मा ब्याजकर दाखिला नभएमा वा पछि ब्याज करमा थप समायोजन गर्नु परेमा बैंक जिम्मेवार नहुने समेत स्पष्ट पारिएको छ ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण ई–टिडिएस प्रणालीमा ब्याजकर विवरण समावेश नभएमा वा भविष्यमा करसम्बन्धी समायोजन गर्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी ग्राहक स्वयंको हुने स्पष्ट पारेको छ।
डिजिटल बैंकिङ सेवाको विस्तारसँगै ग्राहकको विवरण अद्यावधिक राख्नु नियामकीय अनुपालन, कर व्यवस्थापन तथा सुरक्षित बैंकिङ सेवाका लागि आवश्यक रहेको बैंकले जनाएको छ।
साथै, बैंकले ग्राहकलाई करकट्टी विवरण र वित्तीय जानकारी सुरक्षित रूपमा प्राप्त गर्न आफ्नो खातामा ईमेल ठेगाना र प्यान (PAN) विवरणहरू बैंकको भिडियो केवाईसी, मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank), नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र मार्फत यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।


