एन आई सी एशिया बैंकद्वारा ३ जिल्लाका ४ सामुदायिक विद्यालयलाई सहयोग
१९ असार, काठमाडौं।
एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशका विभिन्न दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र प्रविधि पहुँचमा सुधार ल्याउन महत्वपूर्ण सहयोग प्रदान गरेको छ।
बैंकले सुदूरपश्चिम र कर्णाली प्रदेशका तीन जिल्ला—डडेल्धुरा, रुकुम पश्चिम र अछामका ४ वटा सामुदायिक विद्यालयहरूलाई शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर जस्ता आधुनिक उपकरणहरू सहयोग स्वरूप उपलब्ध गराएको हो।
बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१, असुर्पास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५३ भन्दा बढी विद्यार्थीहरूको सिकाइलाई डिजिटल माध्यमसँग जोड्न २ थान प्रोजेक्टर प्रदान गरेको छ।
गत असार १७ गते आयोजित एक कार्यक्रमका बीच बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई उक्त उपकरण हस्तान्तरण गरे।
यसैगरी, १०८७ भन्दा बढी विद्यार्थी अध्ययनरत रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले एक थान प्रिन्टर उपलब्ध गराएको छ, जुन असार १८ गते बैंकका शाखा प्रमुख ओमकार घर्ती मगरले प्रधानाध्यापक कम प्रसाद देवकोटालाई हस्तान्तरण गरे।
प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप बैंकले अछामका दुई विद्यालयलाई ठूलो संख्यामा कम्प्युटर सामग्री सहयोग गरेको छ।
मंगलसेन नगरपालिका–९, ओलीगाउँस्थित श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४८३ भन्दा बढी विद्यार्थीलाई लक्षित गरी बैंकले २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर प्रदान गरेको छ।
उक्त सामग्री असार १८ गते बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावल र प्रधानाध्यापक तेज बहादुर रावललाई संयुक्त रूपमा हस्तान्तरण गरे।
सोही दिन, ४०५ भन्दा बढी विद्यार्थी अध्ययनरत मंगलसेन नगरपालिका–१४, कालागाउँस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई पनि शाखा प्रमुख थापाले २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर विद्यालयका प्रधानाध्यापक छत्र बिक्रम रावललाई हस्तान्तरण गरे।
बैंकले उपलब्ध गराएका यी आधुनिक उपकरणहरूले दुर्गम क्षेत्रका विद्यार्थीहरूको दैनिक पठनपाठनमा सहजता ल्याउनुका साथै गुणस्तरीय शिक्षा, प्रविधिमा पहुँच र विद्यालयको प्रशासनिक कार्य सम्पादनलाई अझ चुस्त र प्रभावकारी बनाउन ठोस योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।
For More: Nic Asia Bank Support


