नेपाल बैंक एनपीएस–एनसीएस र नेपालपे कार्ड प्रणालीमा आवद्ध
१९ असार, काठमाडौं।
नेपाल बैंक लिमिटेड र नेपाल क्यिरिङ हाउस लिमिटेड (NCHL) बीच राष्ट्रिय भुक्तानी स्विच (National Payment Switch – NPS) अन्तर्गत ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’ (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता भएको छ।
आज आयोजित एक कार्यक्रमका बीच नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) तिलक राज पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
यस सम्झौता पश्चात् नेपाल बैंकले आफ्नो भुक्तानी स्विचलाई एनपीएस–एनसीएस (NPS-NCS) सँग पूर्ण रूपमा आवद्ध (इन्टीग्रेट) गरेपछि आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डबाट हुने कारोबारहरू स्वीकार (Accept) गर्न सक्नेछ।
एनसीएचएलले भर्खरै मात्र नेपालपे कार्डको व्यावसायिक सुरुवात गरेको हो। अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’ (Discover Network) सँगको सहकार्यका कारण यो कार्ड नेपालका साथै विश्वव्यापी रूपमा समेत प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै आवद्ध बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSP) र भुक्तानी प्रणाली सञ्चालक (PSO) ले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशका एटीएम (ATM) र पीओएस (POS) टर्मिनलहरूमा सहजै चल्नेछन्। यसका साथै, भारतको ‘रुपे’ (RuPay) कार्ड र डिस्कभरका अन्य अन्तर्राष्ट्रिय कार्डहरू समेत नेपालका टर्मिनलहरूमा स्वीकार हुनेछन्।
विभिन्न कार्ड स्विचहरू बीच अन्तर–आवद्धता (Interoperability) कायम गर्न र आन्तरिक कार्ड कारोबारको राउटिङ तथा फर्स्योट (Settlement) का लागि एनपीएस–एनसीएसलाई एक केन्द्रीय कार्ड स्विचका रूपमा स्थापना गरिएको हो।
यो प्रणालीले स्वदेशी कार्ड कारोबारको लागत घटाउने, डेटा स्थानीयकरण (Data Localization) सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन प्रविधिहरूको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
हालसम्म यो प्रणालीमा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरका रूपमा आवद्ध भइसकेका छन्। जसमध्ये ७ वटा बैंकले कार्ड जारी (Issuance) गर्न सुरु गरिसकेका छन् भने १० वटा बैंकले कार्ड स्वीकार गर्ने (Acquiring) सेवा दिइरहेका छन्। आगामी दिनमा यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नेपाल बैंकले पछिल्लो समय डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाइरहेको छ। देशभर बलियो उपस्थिति रहेको यस बैंकले यो सम्झौतामार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक र सुरक्षित राष्ट्रिय कार्ड सेवा प्रदान गर्दै डिजिटल साक्षरता र पहुँचलाई थप उचाइमा पुर्याउने विश्वास लिएको छ।
For More: Nepal Bank Nepalpay Card


