एनआईसी एशिया बैंकद्वारा पर्वतको जननेत्र माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
१२ असार, काठमाडौं ।
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका, देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
विद्यालयमा विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले उक्त सामग्रीहरू प्रदान गरेको हो ।
हाल १९१ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले संयुक्त रूपमा सामग्रीहरू हस्तान्तरण गरे । उक्त सामग्रीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र प्रधानाध्यापक दिपक शर्मालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री अन्तर्गत स्कूल झोला, पेन्सिल, कपी, पेनलगायतका सामग्रीहरू र खेलकुद तर्फ फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल तथा जेभलिन थ्रो जस्ता विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू तथा बैंकका स्थानीय प्रतिनिधि एवं कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूको नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद गतिविधिमा अझ धेरै सहजता थपिने विश्वास लिएको छ ।
For More:-Nic Asia Bank Donation


