नेप्से ३६ अंकले घट्दा ६ अर्ब ३५ करोडको कारोबार
७ असोज, काठमाडौं।
शेयर बजारमा आज ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २,६१८ दशमलव शून्य ३ विन्दुमा सीमित भएको छ । बजार घटेसँगै लगानीकर्ताको अर्बौं रुपैयाँबराबरको लगानी जोखिममा परेको छ भने समग्र बजारमा थप अस्थिरता छाएको छ ।
आज दिनभर भएका कारोबारमा ३५२ कम्पनीका २ करोड १६ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजारमा २३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ ।
यसैगरी, कारोबारमा आएका १३ वटै उपसूचक राताम्य भएका छन्, जसमध्ये बैंक तथा वित्तीय संस्था, जलविद्युत र जीवन बीमा कम्पनीहरूको शेयर मूल्यमा प्रष्ट रूपले भारी गिरावट देखिएको छ ।
पछिल्लो समय सरकार र नियमनकारी निकायहरूले पुँजी बजार सुधारका लागि विभिन्न नीतिगत पहलहरू अगाडि बढाएका छन् । अर्थ मन्त्रालयको राहत प्याकेज, पुँजीगत लाभकर घटाउने नीति र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डको लचकताले बजार उकालो लाग्ने अपेक्षा गरिएको थियो । साथै, लाभांश वितरणको सिजन सुरु भइसकेको अवस्थामा पनि बजारमा सकारात्मक उत्साह देखिन सकेको छैन ।
नीतिगत वातावरण केही सहज बन्दै गए पनि बजारले गति लिन नसक्नुमा ठूला लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र लगानीको स्रोत खोजीको त्रास प्रमुख कारण रहेको बजार विश्लेषकहरूको ठम्याइ छ । ठूला लगानीकर्ता पछि हटेका कारण बजारमा पर्याप्त माग सिर्जना हुन सकेको छैन भने साना तथा मध्यम लगानीकर्ताहरूमा ‘पर्ख र हेर’ को अवस्था कायम छ ।
एकातर्फ यस गिरावटलाई केही लगानीकर्ताले बजार प्रवेश गर्ने उपयुक्त अवसरका रूपमा व्याख्या गरेका छन् भने अर्कातर्फ मनोवैज्ञानिक त्रास र अस्थिरताको घण्टीका रूपमा लिएका छन् ।
For More: NEPSE index falls 36 points

