नेपालगञ्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली जडान

असार १९, काठमाडौँ।

नेपालगञ्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम पूर्वानुमान विभागको सहकार्यमा आइतबारदेखि उक्त प्रणालीको सुरुवात गरिएको हो ।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिने छ । प्रवक्ता निरौलाले भने, “अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।”

कर्णालीको हब विमानस्थलको रुपमा रहेको यो विमानस्थलको क्षमता विस्तार गर्दै प्राधिकरणले अतिरिक्त २५ सय मिटर धावनमार्ग विस्तार गर्न लागेको छ।

करिब तीन अर्ब रुपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधालक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ। यसका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको प्राधिकरणले जनाएको छ।

हाल १५ सय मिटर लम्बाइ धावनमार्ग रहेको यो विमानस्थलमा विभिन्न वायुसेवा कम्पनीका एटीआर-७२ सिरिज जहाजले नियमित उडान गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here