नेपाल टेलिकम र मौसम विभागबीच सम्झौता: अब एसएमएसमार्फत आउनेछ विपद्को पूर्वसूचना
३१ असार, काठमाडौं।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ ।
यस सम्बन्धी आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यस प्रकारको एसएमएस प्रवाह विगत देखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरे ।
सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद् सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएस मार्फत पठाइने छ ।
यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शितलहर, धुम्रात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट र डढेलो जस्ता प्रकोपहरूको पूर्वसूचना पठाइने छ ।
विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरू तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरूको एसएमएस पोलिगन (SMS Polygon) हरू जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउने छ ।
सम्झौता अनुसार पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायतका नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्रहरू (Flash Flood Polygon) वा उपयुक्त कुनै बेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइने छ ।
त्यसैगरी प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भूभाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइने छ ।
यस सम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगत देखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल टेलिकमले पहिले देखि नै ७०० वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १०० वटा समेत गरी ८०० वटा डाटा सहितको सिम निःशुल्क उपलब्ध गराउने छ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग मार्फत विगत २०७३ साल देखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ ।
For More: Nepal Telecom Disaster Sms Alerts


