बाढी प्रभावित ७ थप स्थानमा नेपाल टेलिकमको सेवा सुचारु, रसुवा बोर्डर र नुवाकोटमा मोबाइल नेटवर्क फर्कियो
१५ भदौ, काठमाडौं।
नेपाल टेलिकमले बाढी प्रभावित रसुवा र नुवाकोटका थप ७ स्थानमा बीटीएस (BTS) टावर मर्मत गरी मोबाइल सेवा सुचारु गरेको छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा आज (२०८३ भदौ १४ गते) देखि टेलिफोन तथा मोबाइल सेवा पुनः सुचारु गरेको छ। यससँगै बाढी प्रभावित अधिकांश क्षेत्रका मोबाइल बीटीएस (BTS) साइटहरू पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
नेपाल टेलिकमका अनुसार आजदेखि सेवा सुचारु भएका नयाँ साइटहरू निम्नलिखित रहेका छन्:
रसुवा जिल्ला: रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ बीटीएस साइट
नुवाकोट जिल्ला: चारघरे र चारघरे मुलाबारी बीटीएस साइट
कुन-कुन क्षेत्रमा पुग्यो सञ्चार सेवा?
रसुवा बोर्डर बीटीएस: नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा सुरु भएको छ।
अपर सेन्जेन बीटीएस: चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका वडा नं. ५ लगायतका क्षेत्र।
छापथोके बीटीएस: बेत्रावती, काउली, त्रिशुली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ।
जिपजिपे बीटीएस: कालिका गाउँपालिकाका वडा नं. २ र ५, धारापानी तथा देउरालीडाँडा।
गत्लाङ बीटीएस: गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम।
चारघरे र चारघरे मुलाबारी बीटीएस: बिदुर नगरपालिका वडा नं. १२ र १३।
विपद्को यस परिस्थितिमा सर्वसाधारणको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै नेपाल टेलिकमका प्राविधिकहरू अहोरात्र खटिएका छन्। कम्पनीले विपद्का बेला पनि निरन्तर र गुणस्तरीय सेवा सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।
For more: Nepal Telecom Activates 7 More BTS Towers

