प्रधानमन्त्री कार्यालयको निर्देशन: ‘नयाँ सामान नकिन्नू, मर्मत गरेर काम चलाउनू’
१ जेठ, काठमाडौं।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न निर्देशन दिएको छ।
परिपत्रमा कार्यालय प्रमुखहरूको नियुक्ति वा सरुवासँगै कार्यालयमा प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला जस्ता फर्निचर र मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता विद्युतीय सामग्रीहरू विनाकारण नयाँ खरिद गर्ने गरिएको भनी व्यापक गुनासो आएको उल्लेख गरिएको छ।
सामान्य मर्मत गरेर चलाउन सकिने उपकरण वा सवारी साधनलाई पनि मर्मत नगरी नयाँ खरिद गर्ने र कतिपय अवस्थामा मर्मत गर्दा अस्वाभाविक खर्च देखाएर राज्यकोषको दोहन भइरहेको प्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ।
प्रधानमन्त्री कार्यालयले सरकारी निकायहरूलाई कार्यालयमा मौज्दात रहेका सामग्री, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर अधिकतम उपयोग गर्न र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन दिएको छ।
शाखा अधिकृत सूर्यबहादुर वस्नेतद्वारा हस्ताक्षरित उक्त परिपत्र सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।
For More:-Nepal PMO Austerity Directive



