स्मार्ट सेल घोटाला प्रकरण: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
३० वैशाख, काठमाडौं।
सरकारी सम्पत्ति हिनामिना तथा स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई हेटौँडा–सिन्धुली राजमार्गबाट भारततर्फ भाग्दै गरेको अवस्थामा गएराति नियन्त्रणमा लिएको हो।
गत शनिबारदेखि मोबाइल स्विच अफ गरी फरार रहेका ६३ वर्षीय पाण्डेमाथि सरकारीकरण भइसकेको सम्पत्ति बेइमानीपूर्वक अर्को कम्पनीलाई बिक्री गरी ठगी तथा आपराधिक विश्वासघात गरेको गम्भीर आरोप लागेको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, नेपाल सरकारको हक टुटाउने उद्देश्यले गरिएका गैरकानुनी कार्यमा संलग्नता देखिएपछि पाण्डेलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कारबाहीका लागि पक्राउ गरिएको हो।
ललितपुर निवासी पाण्डेले बैंकको ऋण असुली विभागको अध्यक्षको हैसियतमा स्मार्ट सेलको लिलामी प्रक्रियामा सहभागी भई सरकारी सम्पत्ति दुरुपयोग गरेको प्रहरीको दाबी छ।
यसअघि सोही प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलकसमेत पक्राउ परिसकेका छन्। सीईओ पाण्डे पक्राउ परेसँगै बैंकभित्र हुने कर्जा दुरुपयोग र अन्य वित्तीय अनियमितताका विषयमा समेत थप छानबिन हुनुपर्ने माग उठ्न थालेको छ। सीआईबीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
For More:-Smart Cell scam arrest



