नेपाल फिनटेक एक्स्पो २०२६: ललितपुरमा असोज २३–२५ गते दोस्रो संस्करण हुँदै
२४ साउन, काठमाडौं।
नेपालको वित्तीय प्रविधि (फिनटेक) क्षेत्रको छाता संस्था फिनटेक एलायन्स नेपाल (FAN) ले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना गर्ने घोषणा गरेको छ। पहिलो संस्करणको भव्य सफलतापछि यस वर्षको एक्स्पो आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) सम्म ललितपुरको हेरिटेज गार्डेन मा आयोजना हुनेछ।
विगतमा दुई दिन सञ्चालन गरिएको यस कार्यक्रमलाई परिमार्जन गरी यस वर्ष लगातार तीन दिनसम्म आयोजना गर्न लागिएको हो। यसले सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक अन्तरक्रिया, सम्बन्ध विस्तार (नेटवर्किङ) तथा ज्ञान आदान-प्रदानका लागि थप फराकिलो मञ्च प्रदान गर्नेछ।
यस एक्स्पोमा ६५ भन्दा बढी प्रर्दशनी कक्ष (स्टल), अन्तर्राष्ट्रिय सहभागिता र ६,००० भन्दा बढी अवलोकनकर्ताहरूको उपस्थिति रहने अनुमान गरिएको छ।
एक्स्पोका मुख्य आकर्षणहरू
६५+ प्रर्दशनी कक्षहरू: बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक (PSP/PSO), र प्रविधि कम्पनीहरूको प्रत्यक्ष सहभागिता।
अनुभव क्षेत्र (Experience Zone): सहभागीहरूलाई नयाँ वित्तीय प्रविधि र डिजिटल समाधानहरूको प्रत्यक्ष अनुभव गराउन दुई वटा विशेष अनुभव क्षेत्रको व्यवस्था।
कृत्रिम बुद्धिमत्ता (AI) र अत्याधुनिक प्रविधि: कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, इम्बेडेड फाइनान्स र कर्जा प्रविधि (Lending Technology) जस्ता आधुनिक विषयमा विशेष जोड।
नयाँ सेवा तथा उत्पादन सार्वजनिक (Product Launch): विभिन्न वित्तीय तथा प्रविधि कम्पनीहरूले आफ्ना नवीनतम सेवा तथा प्रविधि आधिकारिक रूपमा सार्वजनिक गर्ने मञ्च।
व्यवस्थित उद्घाटन समारोह: पहिलो दिन (अक्टोबर ९) हेरिटेज गार्डेन परिसरमै रहेको ‘क्लासिक भेन्यु’ मा भव्य उद्घाटन समारोह हुनेछ।
उच्चस्तरीय नेटवर्किङ र प्रिमियम लाउन्ज
कार्यक्रमको पहिलो दिन साझ बैंकका उच्च अधिकारी, नियामक निकाय, फिनटेक व्यवसायी तथा लगानीकर्ताहरूबीच व्यावसायिक सहकार्य र सम्बन्ध विस्तारका लागि ‘नेटवर्किङ डिनर’ आयोजना गरिनेछ।
साथै, यस संस्करणमा पहिलो पटक ‘प्रिमियम लाउन्ज’ को व्यवस्था गरिएको छ, जहाँ विशिष्ट अतिथि तथा प्रिमियम पास वाहकहरूले शान्त वातावरणमा उच्चस्तरीय व्यावसायिक छलफल गर्न सक्नेछन्।
स्टल बुकिङ, शुल्क तथा प्रायोजन
फिनटेक एलायन्स नेपालले स्वदेशी तथा विदेशी कम्पनीहरूलाई आफ्ना डिजिटल नवप्रवर्तनहरू प्रदर्शन गर्न आमन्त्रण गरेको छ:
स्वदेशी स्टल शुल्क: रु. ७५,००० प्रति स्टल (FAN का कर्पोरेट सदस्यहरूका लागि ५० प्रतिशत विशेष छुट)
अन्तर्राष्ट्रिय स्टल शुल्क: अमेरिकी डलर ७५० (USD 750) प्रति स्टल
प्रायोजन श्रेणीहरू: टाइटल स्पन्सर, पावर बाइ पार्टनर, गोल्ड स्पन्सर, सिल्भर स्पन्सर र नेटवर्किङ स्पन्सर
सहज प्रवेश टिकट तथा सहभागीता
सर्वसाधारण तथा विद्यार्थीहरूको सहज सहभागिताका लागि ‘खल्टी’ (Khalti) लाई आधिकारिक टिकटिङ पार्टनर तोकिएको छ।
सर्वसाधारण प्रवेश शुल्क: रु. २००
विद्यार्थी प्रवेश शुल्क: रु. ५०
निःशुल्क (कम्प्लिमेन्ट्री) पास: फिनटेक क्षेत्रको विकासमा योगदान पुर्याउने विशेष व्यक्ति तथा संस्थाहरूलाई उपलब्ध गराइनेछ।
हाल ५३ वटा कर्पोरेट सदस्यहरू आबद्ध रहेको फिनटेक एलायन्स नेपालले वित्तीय प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि नियमित रूपमा ‘फिनटेक फ्राइडे’, ‘फिनटेक सोसियल’ र ‘सिटिओ रिट्रिट’ जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
For more: Nepal Fintech Expo 2026

