विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८.७६ अर्ब रुपैयाँ खुद बचत
७ साउन, काठमाडौं।
नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/०८३ मा नेपालले भारत तथा बंगलादेशतर्फ तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ । यसबाट कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षमा नेपालले दुई अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षमै निर्यात परिमाण ६२.८९ प्रतिशतले बढ्दै आम्दानी पनि करिब १२ अर्ब रुपैयाँले वृद्धि भएको हो । प्राधिकरणका अनुसार भारतीय ऊर्जा विनिमय बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरिएको थियो ।
यसैबीच, नेपालले बाह्य स्रोतबाट गर्ने विद्युत् आयातमा उल्लेख्य कटौती गर्न सफल भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा एक अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो ।
आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । यस आधारमा आयात खर्च १८.२९ प्रतिशतले घटेको देखिन्छ ।
निर्यात आम्दानीमा तीव्र वृद्धि र आयात खर्चमा कमी आउँदा विद्युत् व्यापार नेपालको लागि उच्च प्रतिफल दिने क्षेत्रका रूपमा स्थापित हुँदै गएको देखिएको छ । समीक्षा वर्षमा निर्यातबाट भएको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानीबाट आयात खर्च कटाउँदा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत भएको हो ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार जलविद्युत् उत्पादनमा भएको तीव्र वृद्धि, सीमापार प्रसारण पूर्वाधारको विस्तार, भारतको खुला बजारमा पहुँच विस्तार, बंगलादेशसँग सुरु भएको विद्युत् व्यापार तथा माग–आपूर्ति व्यवस्थापनमा आएको सुधारले नेपालको विद्युत् व्यापारलाई नाफामुखी बनाएको हो ।
नेपालको वर्षायाममा बढ्दो विद्युत् उत्पादनलाई निर्यातमार्फत बजार उपलब्ध गराउन सफल भएपछि विद्युत् क्षेत्र अब केवल आन्तरिक आपूर्ति व्यवस्थापनमा सीमित नभई विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रका रूपमा समेत स्थापित हुन थालेको संकेत यो तथ्यांकले दिएको छ ।
आगामी वर्षहरूमा थप जलविद्युत् आयोजना सञ्चालनमा आउने र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार हुने क्रम जारी रहेमा नेपालको विद्युत् निर्यात र व्यापार बचत अझै बढ्ने अपेक्षा गरिएको छ ।
For More: Nepal Electricity Trade Savings

