१५ असोज, काठमाडौं ।
नेपाल डिजिटल पेमेन्टस् कम्पनी लिमिटेड (NDPC) को अध्यक्षमा रीना डंगोललाई २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले सर्वसम्मत निर्णय गर्दै नियुक्त गरेको छ। उनले २०८१ असोज १३ गते नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरिन्।
Nepal Digital Payments Company Chairperson Reena Dongol
शपथ ग्रहण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबिन राज पोखरेलको पनि उपस्थिति थियो।
शपथ ग्रहण पछि अध्यक्ष डंगोलले आफ्नो खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्टस् कम्पनीको पहलहरूले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “वित्तीय समावेशीकरणको हाम्रो पहलले आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने सम्भावनाले म उत्साहित छु।”
नमस्ते पेबारे जानकारी
नेपाल डिजिटल पेमेन्टस् कम्पनी लिमिटेडद्वारा संचालित नमस्ते पे सेवा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त प्रवर्द्धनमा स्थापित एक डिजिटल भुक्तानी सेवा प्रदायक हो। यसले सामान, सेवाहरू र वित्तीय सेवाहरूको लागि एकै ठाउँमा डिजिटल भुक्तानी समाधान प्रदान गर्दछ।
नमस्ते पेले बैंकिङ्ग पहुँच भएका र नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै नगदरहित समाज निर्माणको लक्ष्य राखेको छ।
*500# डायल गरेर प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू जस्तै रिचार्ज, बिल भुक्तानी, पैसा थप्न र पठाउन, तथा व्यापारी भुक्तानी गर्न सक्ने सुविधा पाउँछन्। नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवा प्रयोग गर्न सक्नेछन्।
थप जानकारीका लागि www.namastepay.com मा जानुहोस्।