गुणस्तरहीन भेटिएका ‘करेन्ट’, ‘लाली’ चाउचाउ र ‘ज्याक न्याक’ बिस्कुट बजारबाट फिर्ता गर्न आदेश
१ जेठ, काठमाडौं।
नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू गुणस्तरहीन भएको पुष्टि गर्दै ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता (Recall) गर्न आदेश दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा अनिवार्य गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम यो कडा कदम चालिएको हो।
विभागका अनुसार यशोधा फुड्स प्रा.लि., तिलोत्तमा, रुपन्देहीद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ (Current) चाउचाउ (ब्याच नं. ०४ ए) र ५० ग्रामको ‘लाली’ (Lali) चाउचाउ (ब्याच नं. ०२ ए) मा कैफियत भेटिएको छ। यी दुवै चाउचाउमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुरूप नभएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ।
त्यसैगरी, एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रा.लि., दुहबी, सुनसरीद्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ (Jack Nack Krakers) बिस्कुट (ब्याच नं. ६) मा पनि सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पुरा नभएको पाइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) र (४) को प्रावधान बमोजिम विभागले सम्बन्धित उत्पादक कम्पनीहरूलाई उक्त ब्याचका सम्पूर्ण सामग्रीहरू बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ।
साथै, अर्को सूचना जारी नभएसम्म ती उत्पादनहरूको बिक्री–वितरण नगर्न र नगराउन समेत महानिर्देशकको निर्देशनअनुसार आदेश जारी गरिएको छ। गुणस्तरहीन प्रमाणित भएका यस्ता खाद्य वस्तुको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुनाले विभागले उपभोक्ताहरूलाई विशेष सचेत रहन आग्रह गरेको छ।
For More:-Nepal Substandard Food Recall





