NCHL-ECC र NCHL-IPS प्रणालीको कारोबार समय सीमामा फेरबदल
३१ वैशाख २०७९, काठमाडौं ।
नेपाल सरकार र सर्वसाधारण समेतलाई विद्युतिय कारोवार गर्न थप प्रोप्साहन र प्रर्वद्घन गर्न नेपाल राष्ट्र बैंकले हालै RTGS समय सीमा थप गरेको परिपेक्षमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडद्धारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ ।
साथै शनिबार र आइतबार हुने सार्वजनिक बिदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरु शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी यहि जेष्ठ ३, मंगलबारको दिन देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको छ ।
उक्त व्यवस्था अनुसार NCHL-ECC प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ः०० बजे सम्म पेश हुन आएमा चेकहरु सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ ।
हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।
त्यस्तै रु.२०-३० करोड सम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउसो ३ः०० बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी NCHL-IPS प्रणालीमा साँझको ५:०० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ देखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २-२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन् ।
हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ ।
तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने छ भने जाडो महिनामा (कार्तिक १६ गते देखि माघ १५ गते सम्म) RTGS समय सीमा सँग मिल्ने गरी NCHL-IPS प्रणालीको समय सीमा एक घण्टाको लागि कम हुने व्यवस्था गरिएको छ ।
त्यसै गरी रिटेल पेमेन्ट स्वीच माफर्त हुने रियल टाइम भुक्तानीलाई थप टेवा पु¥याउन बैंकहरु बीच हुने सेटलमेन्टलाई हरेक १ घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटक सम्म) गर्ने व्यवस्था गरिएको छ । ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत नै रहनेछ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको विद्युतिय कारोबार बृद्धि गर्न लिएको नीति कार्यान्वयनमा उक्त कारोबार समय सीमा परिमार्जनले थप सहयोग पुग्ने, बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले विद्युतीय भुक्तानी गर्न अझ सहज भई विद्युतीय कारोबारको कार्यान्वयन अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 
                                                                    
 
                                                                     
                                                                    