६ जेठ, २०७८ काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७६ / ७७ को आफ्नो नवौं वार्षिक साधारण सभा मिति ५ जेष्ठ २०७८ (१९ मे २०२१)मा Zoom प्ल्याटफर्म मार्फत अन्लाईन सम्पन्न गरेको छ । हाल विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को परिस्थितीलाई ध्यानमा राखी उक्त साधारण सभा अन्लाईन मार्फत गरिएको हो ।
बैठकले कम्पनीको चुक्ता पूँजी रु. २९.८ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. ४१.१ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।
आ.व. २०७६ / ७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमा उल्लेख्य रुपमा वृद्धी भएता पनि कम्पनीको खुद नाफा २२.२५ ले घटेको छ । त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९% बराबरको नाफा (Return on Capital Employed) प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८% ले कम रहेको छ । कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालनगर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्ण रुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रमा रहेको प्रतिस्पर्धा रहेका छन् ।
बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने तीन नयाँ संञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्नु हुने संञ्चालकहरुको कार्यकाल समाप्त भए सँगै ती पदमा हिमालयन बैंक लि.का जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लि. का वरिष्ठउप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालज्यू तथा सिद्धार्थ बैंक लि.का आइ.टि. प्रमुख सृजन मल्ल निर्वाचित हुनुभएका छन् । नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०%स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीन जना, विकास बैंकका तर्फबाट एक जनार फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जना प्रतिनिधी रहेका छन् ।
कम्पनीले NCHL-ECC, NCHL-IPS तथा connect-IPS भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७६ / ७७ मा कुल ९७ खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भनेकम्पनीमा ५८ गैर-बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।