एनसेलबाट ‘हेलो सरकार’ लाई निःशुल्क कल गर्न सकिने 

Ncell Enables Toll-Free Number 1111 Calling Connect with Hello Sarkar Easily

१९ भदौ, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तार एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

‘हेलो सरकार’को सेवालाई थप प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ। अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्छन् ।

आइतबार ‘हेलो सरकार’को सेवालाई अझ विस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको हो ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । यससँगै गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

“नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ,” उनले भने, “यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रूपमा विकास गर्नुपर्ने नै छ । यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आवद्वता गर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउडसोर्स गभर्नेन्सका रूपमा विकास गर्न अपरिहार्य छ ।”

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधा सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए । उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

‘हेलो सरकार’ आमनागरिकका गुनासा र सुझाव सुनवाइ लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो । “जनगुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र हो । सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here