उद्योगपति शेखर गोल्छासँग सम्बन्धित घटनाप्रति नाइमाको गम्भीर ध्यानाकर्षण; निष्पक्ष अनुसन्धानको माग
११ वैशाख, काठमाडौं।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्ला घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
नाइमाका बोर्ड सदस्य समेत रहेका गोल्छाका विषयमा विकसित परिस्थितिलाई लिएर संस्थाले आफ्नो धारणा सार्वजनिक गरेको हो।
नाइमाले कुनै पनि विषयमा प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण पेश गर्ने पर्याप्त अवसर दिनुपर्ने माग गरेको छ। प्रक्रियागत स्पष्टता, सन्तुलन र उचित विवेकको प्रयोगले मात्र समग्र प्रणालीप्रतिको विश्वास सुदृढ हुने संस्थाको ठहर छ।
मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना र राजस्व संकलनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नाइमाले यस्तो अवस्थामा राज्यले निजी क्षेत्रको मनोबल उच्च राख्ने र विश्वासको वातावरण बनाउने दिशामा नीतिगत सन्देश दिनुपर्ने बताएको छ।
उद्यमशीलताको निरन्तरताका लागि राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।
विधिको शासन र पारदर्शिताको पक्षमा दृढ रहेको स्पष्ट पार्दै नाइमाले कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र कानुन उल्लङ्घन गर्नेमाथि कारबाही हुनुपर्ने धारणा राखेको छ।
तथापि, पर्याप्त प्रमाणबिना चालिने कठोर कदमले प्रणालीप्रतिको विश्वासमा असर पार्न सक्ने भन्दै सम्बन्धित निकायहरूलाई आवश्यक संवेदनशीलता अपनाउन नाइमाले अनुरोध गरेको छ।
For more: NAIMA Statement Golchha Case


