उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी
२८ असार, काठमाडौं।
नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेडले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ ।
‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको तथ्याङ्क अनुसार, बैंकले प्रवाह गरेको कुल ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।
बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, देशको उज्यालो भविष्यसँग जोडिएको जलविद्युत र ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ लगानी गर्दै नबिलले राष्ट्रिय ऊर्जा संकट समाधान र निर्यात प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
बैंकको लगानीको अर्को बलियो खम्बाको रूपमा लघु, घरेलु, साना तथा मझौला उद्यम रहेको छ । तल्लो तहमा रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न बैंकले यस क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै, विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन क्षेत्रमा पनि बैंकले ११ अर्ब १० करोड रुपैयाँ लगानी गरी पर्यटन पूर्वाधार विकासमा सहयोग पु¥याएको छ ।
यी क्षेत्रहरूमा गरिएको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ, जसले बैंकको कुल कर्जा पोर्टफोलियोको उल्लेखनीय हिस्सा ओगट्छ । ४२ वर्षअघि सन् १९८४ मा स्थापना हुँदा केवल १३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको बैंकले अहिले ४ खर्ब ६४ अर्बको उचाइ तय गर्नुमा उत्पादनशील क्षेत्रप्रतिको विश्वास नै मुख्य कारण रहेको बैंकले जनाएको छ ।
२६४ शाखा र ३१५ एटीएमको राष्ट्रव्यापी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिलले डिजिटल प्लेटफर्म मार्फत पनि यस्ता कर्जा सुविधाहरूलाई ग्राहकको सहज पहुँचमा पु¥याएको छ ।
आफ्नो वित्तीय यात्रामा आठ पटकसम्म ’उत्कृष्ट करदाता’ र १० पटकसम्म ’नेपालको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्राप्त गरिसकेको नबिल बैंकले आगामी दिनमा पनि जिम्मेवार बैंकिङ्गको माध्यमबाट नेपालको आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले केवल नाफा आर्जन मात्र नभई, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न र ग्रामीण स्तरसम्म वित्तीय समावेशिता पु¥याउन आफ्ना लगानीका क्षेत्रहरूलाई थप विविधिकरण गर्दै लैजाने लक्ष्य लिएको छ ।
For More: Nabil Bank productive sector Investment


