बैंकिङ गोपनीयता भंगको आरोपमा नबिल बैंकको खण्डन: ‘ग्राहकको डाटा पूर्ण सुरक्षित छ’
११ वैशाख, काठमाडौं।
नबिल बैंकले हालै बजारमा फैलिएको ग्राहक गोपनीयता सम्बन्धी भ्रामक समाचारको कडा खण्डन गरेको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा बैंकले ग्राहकको विवरण चुहावट गरेको भन्ने आरोपलाई ‘आधारहीन र प्रमाणविहीन’ दाबी गरेको छ।
विशेषगरी २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सन्दर्भ जोड्दै बैंकले स्पष्ट पारेको छ कि उक्त समाचारमा नै “अनुसन्धानरत निकायबाट प्राप्त विवरण” भनी उल्लेख गरिएको अवस्थामा, नियोजित रूपमा बैंकको साख गिराउन दुष्प्रचार गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकका अनुसार ग्राहकको सूचना केवल सम्बन्धित व्यक्ति, आधिकारिक प्रतिनिधि वा कानूनी प्रक्रिया पूरा गरी आएका नियामक तथा अनुसन्धानकारी निकायलाई मात्र उपलब्ध गराइन्छ।
बैंकले आफ्नो ‘कोर बैंकिङ सिस्टम’ मा कुन कर्मचारीले कुन प्रयोजनका लागि विवरण हेरेको हो भन्ने सबै रेकर्ड सुरक्षित रहने जानकारी दिँदै कुनै पनि अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई विवरण नपठाइएको प्रष्ट पारेको छ।
प्रचलित कानून र बैंकिङ नैतिकताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै नबिल बैंकले यस्ता भ्रामक सूचना फैलाउने व्यक्ति वा निकायमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानूनी कारबाही गर्ने चेतावनी समेत दिएको छ।
For More:-Nabil Bank Denies Data Breach


