भोटेकोशी बाढी पीडितका लागि नेपाल मेडिसिटी अस्पतालको राहत वितरण, गजुरीमा पुग्यो कर्मचारीको टोली
७ असोज, काठमाडौं।
भोटेकोशीमा आएको बाढीपछि धादिङको गजुरी गाउँपालिका पनि प्रभावित बनेको अवस्थामा नेपाल मेडिसिटी अस्पतालले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरको नेतृत्वमा अस्पताल प्रशासन तथा कर्मचारीहरूको टोली गजुरी गाउँपालिका–६ मा पुगेर बाढी प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।
गजुरी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष भक्तबहादुर तामाङ तथा स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै राहत सामग्री वितरण गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको हो। राहत सामग्री हस्तान्तरणसँगै प्रभावित परिवारलाई कठिन परिस्थितिमा आफूहरू एक्लो नरहेको अनुभूति दिलाउने र मानवीय सहयोगमार्फत उनीहरूको मनोबल बढाउने प्रयास गरिएको अस्पतालले जनाएको छ।
नेपाल मेडिसिटी अस्पतालले यसअघि पनि बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा आवश्यकता रहेका अन्य प्रभावित क्षेत्रमा समेत मानवीय सहयोगलाई निरन्तरता दिने अस्पतालको प्रतिबद्धता छ।
राहत सहयोगका क्रममा गजुरी गाउँपालिका–६ का वडाध्यक्ष भक्तबहादुर तामाङले नेपाल मेडिसिटी अस्पतालको पहलको प्रशंसा गर्दै प्रशंसा पत्र प्रदान गरेका छन्। अस्पतालले समुदायबाट प्राप्त सम्मान र प्रोत्साहनले विपद्का समयमा मानवीय सेवामा अझ सक्रिय भएर काम गर्न प्रेरणा मिलेको जनाएको छ।
विपद्का समयमा प्रभावित समुदायको साथमा रहने उद्देश्यसहित नेपाल मेडिसिटी अस्पतालले राहत, सहयोग तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने बताएको छ।
For More: Nepal Medicicity Hospital Relief


