भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै प्रसूति अस्पतालका कर्मचारीलाई बिदा नबस्न निर्देशन
८ असोज, काठमाडौं।
आगामी केही दिन नेपालका अधिकांश स्थानमा भारी वर्षा हुने तथा बाढीपहिरोको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले आफ्ना कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ।
नेपाल सरकारका विभिन्न निकायले २०८३ असोज ९ गतेदेखि असोज ११ गतेसम्म भारी वर्षा तथा बाढीपहिरोको जोखिमबारे सूचना जारी गरेका छन्। सोही अवस्थालाई ध्यानमा राख्दै अस्पताल प्रशासनले असोज ९ गतेदेखि असोज १२ गतेसम्म अस्पतालका कुनै पनि कर्मचारी बिदामा नबस्न आग्रह गरेको हो।
अस्पताल प्रशासनका अनुसार थापाथली र कुपण्डोल दुवै परिसर बागमती नदीको तटीय क्षेत्रमा रहेकाले बाढीको जोखिम उच्च हुन सक्ने अवस्था छ। प्राकृतिक विपद्को समयमा समेत अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने भएकाले कर्मचारीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ।
त्यस्तै, जोखिमको समयमा नियमित कामको सहजीकरणका लागि सम्बन्धित विभागीय प्रमुख तथा इन्चार्जको सम्पर्कमा रहनसमेत अस्पताल प्रशासनले सम्पूर्ण कर्मचारीलाई जानकारी गराएको छ।
For More: Maternity Hospital Employee Leave


