मनोज केसी बने नेपाल प्रहरीको नयाँ आईजीपी, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
१८ असोज, काठमाडौं।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन उक्त पद सिर्जना गरिएको बताए ।
उनले भने, ‘वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय भएको छ।’
त्यस्तै, कार्की सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्री पोखरेलले बताए ।
यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । डा. केसीले नयाँ प्रहरी महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ कात्तिक १८ को निर्णय :
– वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने ।
– प्रकरण १. बमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीलाई खटाउने।
– प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्की प्रकरण २. बमोजिम प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. लाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गते देखि लागु हुने गरी बढुवा गर्ने।
For More: Manoj Kc Nepal IGP

