काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँको बजेट पेस गर्यो

Kathmandu Metropolitan City 25
Share It On:

११ असार, काठमाडौं।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट पेश गरेकी छिन्।

यो बजेट महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभा १५ औँ अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत गरिएको हो।

उपप्रमुख डंगोलले बजेटसँगै ‘आर्थिक विधेयक २०८१’ र ‘विनियोजन विधेयक २०८१’ पनि पेश गर्नुभएको छ। उक्त बजेट सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाबाट आम्दानी हुने १ अर्ब ५० करोड रुपैयाँको आधारमा प्रस्ताव गरिएको हो।

बजेटमा आर्थिक विकास, कार्यालय सञ्चालन, पूर्वाधार विकास, सामाजिक विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रकम विनियोजन गरिएको छ।

विनियोजन विवरण

  • आर्थिक विकास क्षेत्र: १९ करोड ९ लाख (०.७९%)
  • कार्यालय सञ्चालन: ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार (१४.४४%)
  • पूर्वाधार विकास: १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार (६१.२०%)
  • सामाजिक विकास: ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार (१५.७५%)
  • सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र: १ अर्ब ८९ करोड २१ लाख ३० हजार (७.८२%)

उपप्रमुख डंगोलले बजेट प्रस्तुत गर्दै विकासको गतिलाई तीव्रता दिन उपलब्ध स्रोत र मानव संसाधनको उच्चतम परिचालन गर्ने विषयलाई प्राथमिकता दिइएको बताईन्। साथै, सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास, लैङ्गिक समानता, बेरोजगारी न्यूनीकरण, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना, र खाद्य गुणस्तरलाई प्राथमिकता दिइएको छ।

गौरव र स्वर्णिम योजना

महानगरपालिकाका गौरव योजनामा ‘ढलरहित नदी नाला’ थपेर ११ वटा बनाउन प्रस्ताव गरिएको छ, जसका लागि ३ अर्ब ८० करोड रुपैयाँ बजेट छुट्याइएको छ। स्वर्णिम योजनामा ‘कपडा बैंक’, ‘थेमाटिक स्कूल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहरबाट मल’, र ‘महानगर होम स्टे’ कार्यक्रम थप गरेर ३० वटा बनाउन प्रस्ताव गरिएको छ, जसका लागि २ अर्ब बजेट प्रस्तावित छ।

आम्दानी र खर्च

आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ, नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान, संघीय र स्थानीय राजस्व बाँडफाँट, तथा आन्तरिक जनसहभागिताबाट कुल २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित भएको थियो, जसमा हालसम्म ९ अर्ब ३३ करोड ८९ लाख १० हजार ५ सय रुपैयाँ खर्च भएको छ।

राजस्व संकलन

चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ राजस्व संकलन लक्ष्य राखिएको थियो। असार ९ गतेसम्म ८ अर्ब ८१ करोड ६५ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसमा आन्तरिक आय ५ अर्ब ६ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ।

सभामा उपप्रमुख डंगोलले चालु आर्थिक वर्षका लागि गरिएको बजेट खर्चको विश्लेषण गर्दै विकास निर्माण कार्यको भौतिक प्रगति धेरै रहेको बताईन्। कतिपय खर्च भुक्तानी प्रक्रियामा रहेकोले वित्तीय प्रगति आर्थिक वर्षको अन्त्यसम्ममा थपिने आशा व्यक्त गरिन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *