नेपालमा जापानी लगानी भित्र्याउन डा. शर्मिला पराजुली ढकालको पहल: केइदानरेन र आईआरजीडीडी बीच अन्तरक्रिया
१ वैशाख , काठमाडौँ।
नेपालस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा वैश्विक कूटनीति संवाद (आईआरजीडीडी) ले डा. शर्मिला पराजुली ढकालको नेतृत्वमा टोकियोमा केइदानरेनको अन्तर्राष्ट्रिय सहकार्य ब्युरोसँग अन्तरक्रिया सम्पन्न गरेको छ।
जापानका १,५०० भन्दा बढी अग्रणी कम्पनीहरू तथा करिब १०० क्षेत्रगत उद्योग संघहरूको प्रतिनिधित्व गर्ने केइदानरेन जापानको प्रमुख व्यावसायिक महासंघ हो, जसले देशको आर्थिक नीति, औद्योगिक रणनीति तथा विश्वव्यापी व्यापारिक संलग्नता निर्धारणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
भेटवार्ताका क्रममा स्पेन र ओमानको लागि राजदूत भएर काम गरिसक्नु भएको डा. राजदूत ढकालले नेपालको परिवर्तनशील आर्थिक परिदृश्य, लगानीमैत्री वातावरण निर्माणप्रतिको प्रतिबद्धता तथा नीति र व्यवसायबीच सेतु निर्माण गर्न आर्थिक कूटनीतिको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले नेपाल–जापानबीचको दृढ र विश्वासिलो साझेदारीलाई पनि उल्लेख गर्नुभयो।
केइदानरेनले हालै नेपालबाट भएको उच्चस्तरीय भ्रमणको सराहना गर्दै दुवै पक्षले निरन्तर उच्चस्तरीय आदानप्रदान, नियमित भ्रमण तथा नीति–स्तरको संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
जसले द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
बैठकमा लगानी, प्रविधि तथा औद्योगिक सहकार्य लगायत पारस्परिक चासोका क्षेत्रहरूमा रचनात्मक छलफल भएको थियो। दुवै पक्षले यसलाई नेपाल–जापान आर्थिक सहकार्य तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने अर्थपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।
For more: IRGDD and Japan’s Keidanren Discuss


