नेपाल टेलिकम मार्फत प्राकृतिक विपद्सम्बन्धी पूर्वसूचना

असार २४, काठमाडों । 

वर्षायामको प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद् आउने सम्भावना हुन्छ । यस्ता विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद् सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ ।

हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी पूर्वजानकारी उपलब्ध गराइन्छ ।

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ ।

यसका लागि नेपाल टेलिकमले सम्भावित विपद् क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश (Bulk SMS) मार्फत आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका रुपमा लिएका छन् ।

अहिले राष्ट्रव्यापी मनसुन शुरुवातको मौसम भएकाले खासगरी बाढी/पहिरोका कारण धेरै नेपाली प्रभावित हुने सम्भावनालाई दृष्टिगत गरी क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले २०७२ सालको विनाशकारी भूकम्प पश्चात नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने कार्यमा भूमिका निर्वाह गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here