इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालि बीच रणनीतिक सहकार्य

InfoDevelopers MoU Mercantile Office System

१२ माघ २०७९, काठमाडौं।

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको हो ।

सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ । मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस (InfoDevelopers MOS) प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ ।

रणनीतिक साझेदारी पश्चात सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएस (InfoDevelopers MOS) ले विश्वास लिएको छ ।

डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएस(InfoDevelopers MOS)ले राखेको छ । इन्फोडेभलपर्स एमओएसले दुवै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको छ ।

नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस (InfoDevelopers MOS) प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सीइओमा उमेश रघुवंशी र सह सीईओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन् ।

नेपालको आईटी तथा बैकिङ्ग क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ । परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रालि सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन(CBS) विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३०० बढी कर्मचारिहरुले काम गरिरहेका छन् ।

मर्कन्टाइल अफिस सिस्टम्स प्रालि नेपालको एक पुरानो तथा अग्रगामी आइटी कम्पनी हो । संस्थाले विकास गरेको फ्ल्यागशीप कोर बैकिङ्ग सोल्युसन पुमोरी(Pumori) नेपालको शीर्ष स्थानको बैकिङ्ग सफ्टवेयर हो । यसले नेपाली बैकिङ्ग क्षेत्र, अन्तर्राष्ट्रिय बैकिङ्ग संस्था तथा वित्तिय संस्थाहरुलाई विगत ३२ वर्ष देखि टेवा पुर्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here