Why hydrology.gov.np ?

Share It On:

चितवन, चैत । प्राय हामीलाई आईरहने एसएमएस  भन्दा भिन्नै एसएमएस पनि आउने भएको छ। एसएमएस साथीले पठाउलान्, कुनै टेलिकम त कुनै एनसेलबाट पनि सूचना प्राप्त होलान् । अब चितवनमा भने बाढी आउने-नआउने खबर पनि एसएमएसबाटै आउने भएको छ । चितवनको माडीमा यस्तो प्रविधिको विकास भएको छ । एसएमएससँगै बाढी, वर्षा, जलवायु परिवर्तनका हरेक गतिविधि घरमै बसेर वेबमार्फत पनि हेर्न सकिने छ ।युएनडिपीको सहयोगमा यसरी नयाँ प्रविधिको प्रयोग गरी स्वचालित पूर्व सूचना प्रणाली स्थापना गरिएको हो । अत्याधुनिक प्रविधिको प्रयोग गरी वर्षा हेरेर बाढीको पूर्वानुमान गर्ने स्वचालित पूर्व सूचना प्रणाली स्थापना भएको छ ।

युएनडिपीको एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापनका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले नेपालका धेरै क्षेत्रमा बाढीको तह हेरेर मापन गर्ने गरिएको भए पनि माडीमा भने वर्षा हेरेर बाढीको पूर्वानुमान गर्ने आधुनिक प्रविधि भएको  जानकारी दिनुभयो । यसले पठाएका सूचना अत्यावश्यक क्षेत्र तथा प्रतिनिधिलाई एसएसएममार्फत पठाइने छ ।

योसँगै वेबसाइटमार्फत पनि जानकारी लिन सकिने गरी प्रविधिको विकास गरिएको केसीको भनाइ छ ।प्रजिअ, प्रहरी, सेना, विपद् व्यवस्थापन समितिका पदाधिकारी, पत्रकारलगायतलाई एसएमएसमार्फत जानकारी दिने गरी उक्त प्रणाली ल्याइएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, बृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम, सहस्राब्दी विकास लक्ष्यअन्तर्गत एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापनका लागि रिउ जलाधार क्षेत्रभित्र चार र ठोरीमा उक्त प्रणालीको एक केन्द्र स्थापना भएको हो । युएनडिपीले तयार पारेको उक्त सूचना प्रणालीको मौसम विज्ञान विभागले स्वामित्व लिइसकेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिनुभयो ।

जिल्लाकै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र माडीका जनतालाई वर्षाबाट हुने जनधनको क्षति न्यून गर्न युएनडिपीको लगानीमा यहाँका विभिन्न पाँच स्थानमा वर्षा, बाढी र हावापानीको मापन केन्द्र स्थापना गरिएको हो ।माडी क्षेत्रको भौगोलिक अवस्था र वर्षा हेरेर बाढीको पूर्वमापन गर्ने गरी यो प्रविधि बनाइएको उहाँले जानकारी दिनुभयो । चितवनको दक्षिणमा पर्ने माडीमा बर्सेनि बाढीले बगाएर मानिसको ज्यान जाने गरेको तितो यथार्थ छ । एक दर्जनभन्दा बढी छहरे खोला छन् भने चितवन निकुञ्जको चुरे पहाडबाट आएको रिउ नदी माडीका विभिन्न क्षेत्र हुँदै बग्ने गर्छ । हिउँदमा हेर्दा सुख्खा देखिने खोला वर्षामा नपत्याउँदो नदी भएर बग्छन् । त्यसकारण यहाँका जनतालाई वर्षा सुरु भएपछि निद्रा लाग्दैन्थ्यो । तर यसपालि भने युएनडिपीले माडी क्षेत्रका विभिन्न पाँच स्थानमा पूर्व सूचना प्रणाली स्थापना गरेपछि भने स्थानीय जनतालाई केही राहत मिल्ने देखिएको छ ।

बाढी र हावापानीको अवस्था पहिले नै जानकारी पाउने भएपछि जीउ ज्यान जोखिम हुनबाट बच्ने आशा पलाएको स्थानीय गोविन्द न्यौपानेले बताउनुभयो । माडीमा भएको वर्षा, हावापानीको अवस्था, हावा कताबाट बहेको छ र बाढीको अवस्था के छ सबै जानकारी करिब १५ सेकेन्डको अन्तरालमा साइटमार्फत अध्यावधिक हुने भएकाले इन्टरनेट सुविधा भएको स्थानबाट सबै जानकारी लिन सकिने फिल्ड अफिसर रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । यो प्रणालीका कारण स्थानीय जनता ठूलो बाढी आउने सङ्केत मिल्ने बित्तिकै सुरक्षित स्थानमा सर्न सक्नेछन् । अब मानवीय क्षति कम हुने र भौतिक सम्पत्तिसमेत जोगिने आशा उनीहरुको छ ।माडी नगरपालिका–१२ स्थित गोविन्द बस्तीमा वर्षा मापन, माडी–५ छरछरेमा वर्षामापन र माडीको सिमाना पर्सा ठोरी सरस्वती नगरमा उपल्लो तटीय क्षेत्र भएकाले वर्षा मापन केन्द्र स्थापना गरिएको अधिकारीले जानकारी दिनुभयो । सबै क्षेत्रमा चट्याङ नियन्त्रण उपकरणसमेत जडान गरिएका छन् ।

माडीको वनकट्टा नजिकै रिउ नदीको पुलमा वर्षा मापन र बाढीको तह मापन गर्ने स्वचालित यन्त्र जडान गरिएको छ । यस्तै माडीकै हरिनगर विद्यालयनजिक वर्षा मापनसँगै वायु तापक्रम, सापेक्षिक आद्र्रता, वायुको गति, दिशा मापन गर्ने पूर्ण कृषि जलवायु स्टेसन राखिएको छ । आवश्यक सबै काम सकिए पछि नेपाल सरकारको मौसम विज्ञान विभागलाई हस्तान्तरण गर्ने तयारी गरिएको अधिकारीले जानकारी दिनुभयो । माडीमा युएनडिपीको रु पाँच करोड ५० लाख लगानीमा यहाँ बृहत्तर जोखिम न्यूनीकरण कार्यक्रम चलिरहेको छ । यसअन्तर्गत कृषि उत्पादन, जीविकोपार्जन, पूर्व सूचना प्रणाली, वृक्षरोपण, मानिस र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, नदी नियन्त्रणलगायतका कार्यक्रम सञ्चालित छ । त्यसमध्येको यो पूर्व सूचना प्रणाली करिब रु ७५ लाखको लागतमा निर्माण भएको हो ।

 माडी नगरपालिका स्तरीय कृषि समन्वय समितिले फलफूलका बिरुवा वितरण, च्याउखेती, घर बगैँचा व्यवस्थापन, माछा पोखरी निर्माण, बङ्गुरपालन, बाली तथा पशु बिमा, खाद्यान्न बीउ उत्पादन, कृषिउपज सङ्कलन तथा सूचना केन्द्रको स्थापना गरेको छ । कार्यक्रमले स्थानीय जनतालाई फाइदा पुगेको स्थानीय श्रीप्रसाद दवाडीले बताउनुभयो । त्यस्तै साविकका चारैवटा गाविसमा रहेका समुदायमा आधारित विपद् व्यवस्थापन समितिले जम्मा पाँच ठाउँमा गरी ६२५ मिटर खोला नियन्त्रण तथा तटबन्धन निर्माणसमेत गरेको जनाइएको छ भने वन्यजन्तुलाई बस्तीमा पस्न नदिनको लागी तारवारसमेत गरिएको छ । रासस


Share It On:

Recent Posts