प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने
५ असार, काठमाडौं ।
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद नीता घतानीले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद आरन राईले राखेको अस्वीकृतिको प्रस्तावमाथि निर्णय गरिनेछ। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सम्बन्धमा सांसद कृपाराम रानाले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।
For More:-House Representatives Meeting Today


