ह्यारी केनले पहिलोपटक जिते सन् २०२६ को पुरुष बालोन डी’ओर अवार्ड, महिलातर्फ एलेक्सिया पुटेलासलाई
१० कात्तिक, काठमाडौं।
इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् ।
केनले फ्रान्सका किलियन एम्बाप्पे र स्पेनका लामिन यमाललाई पछि पार्दै प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड जितेका हुन् । सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने उनी पहिलो इंग्लिस खेलाडी बनेका छन् ।
केनले यस सिजन क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गर्दै कुल ७३ गोल गरेका छन् भने आठ गोलका लागि सहयोग गरेका छन् । उनको व्यक्तिगत प्रदर्शनको योगदानमा ८१ गोल संलग्न छन् । उनको प्रदर्शनमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कपको उपाधि जितेको छ ।
बुन्डेसलिगामा केनले ३१ खेलमा ३६ गोल गर्दै बायर्नलाई सन् २०२५–२६ को लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न अन्तिम विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भए पनि केनले प्रतियोगितामा १३ खेलबाट १४ गोल गरेका थिए ।
उनले रियल म्याड्रिडविरुद्ध क्वार्टरफाइनलका दुवै लेग तथा पीएसजीविरुद्ध सेमिफाइनलका दुवै लेगमा कम्तीमा एक गोल गरेका थिए । सन् २०२६ को विश्वकपमा पनि इंग्ल्यान्डका लागि ६ गोल र एक असिस्ट गरेका केनले टोलीलाई तेस्रो स्थानसम्म पु¥याउन योगदान दिएका थिए ।
यसैगरी, महिलातर्फ स्पेनकी पुटेलासले तेस्रो पटक बालोन डी’ओर जितेकी छन् । बार्सिलोनाकी यी खेलाडीले यसअघि सन् २०२१ र २०२२ मा पनि यो अवार्ड जितेकी थिइन् । उनी तीन पटक महिला बालोन डी’ओर जित्ने आफ्नै पूर्वसहकर्मी तथा स्पेनी खेलाडी आइताना बोनमतीको उपलब्धिको बराबरीमा पुगेकी छन् ।
बार्सिलोनाबाट खेल्दै आएकी पुटेलासले महिला फुटबलमा क्लबको बलियो उपस्थिति कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेकी छन् । सन् २०२६ को बालोन डी’ओर समारोह लन्डनस्थित प्यालाडियममा आयोजना गरिएको थियो । पहिलो बालोन डी’ओर विजेता स्टान्ली म्याथ्युज घोषित भएको ७०औँ वार्षिकोत्सवका अवसरमा यस वर्षको समारोह आयोजना गरिएको हो । एएनआई
For more: Harry Kane Men’s Ballon d’Or Award

