कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त: ८३ वर्षीय हजुरबालाई गाउन र टोपी पहिराएर नातिनीहरूले गरे सम्मान
७ असार, काठमाडौं ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह केवल शैक्षिक उपलब्धिको उत्सव मात्र बनेन, यसले पुस्तान्तरण हुँदै आएको माया, प्रेरणा र कृतज्ञताको अनुपम उदाहरण पनि प्रस्तुत गर्यो।
शनिबार सम्पन्न दीक्षान्त समारोहमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी रक्षा खनाल र स्नातक तह उत्तीर्ण गरेकी उनकी बहिनी दीक्षा खनालले आफ्नो सफलताको खुसी मामाघरका ८३ वर्षीय हजुरबा चेतनाथ अर्यालसँग विशेष ढंगले साटे।
विश्वविद्यालय परिसरमै उनीहरूले आफूले लगाएको दीक्षान्त गाउन र टोपी हजुरबालाई पहिराइदिएर सम्मान व्यक्त गरेपछि उपस्थितहरू भावुक बनेका थिए।
नातिनीहरूको यो सम्मान केवल पारिवारिक संस्कारको अभिव्यक्ति मात्र थिएन, उनीहरूको शैक्षिक यात्रामा हजुरबाले पुर्याएको प्रेरणा र हौसलाप्रतिको कृतज्ञता पनि थियो। “हाम्रो पढाइ र सफलतामा हजुरबाको ठूलो प्रेरणा छ। उहाँले सधैं शिक्षा हासिल गर्न प्रोत्साहन दिनुभयो,” रक्षा खनालले भनिन्, “त्यसैले आजको यो विशेष दिनमा उहाँलाई अभिभावकका रूपमा कार्यक्रममा सहभागी गराएर सम्मान गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ।”
जीवनका आठ दशकभन्दा बढी समय पार गरिसकेका चेतनाथ अर्याल पनि नातिनीहरूको सम्मानबाट भावुक देखिनुभयो। “नातिनीहरूले यसरी सम्झेर सम्मान गर्दा धेरै खुसी लागेको छ,” उहाँले छोटो प्रतिक्रिया दिनुभयो।
समारोहस्थलमा खिचिएको त्यो दृश्यले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया नभई परिवारका सपना, त्याग र प्रेरणाको निरन्तरता भएको सन्देश दिएको थियो। हजुरबाको अनुहारमा झल्किएको गर्व र नातिनीहरूको आँखामा देखिएको कृतज्ञताले उपस्थित सबैलाई भावुक बनाएको थियो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा यस वर्ष २ हजार १९३ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका अनुसार हालसम्म ५ हजार ८०६ जना विद्यार्थी दीक्षित भइसकेका छन्।
समारोहमा शिक्षामन्त्री तथा विश्वविद्यालयका उपकुलपति तथा शिक्षामन्त्री सस्मित पाेखरेल उपस्थिति रहेकाे थियाे भने प्रमुख अतिथिका रूपमा भारतको लद्दाख विश्वविद्यालयका प्रतिनिधि सहभागी भएका थिए।
तर समारोहका हजारौँ क्षणमध्ये सबैभन्दा स्मरणीय दृश्य भने एउटा थियो—दुई नातिनीले आफ्नो उपलब्धिको मुकुट हजुरबाको शिरमा सजाइदिएको त्यो सम्मान, जसले शिक्षा र संस्कारबीचको सुन्दर सम्बन्धलाई जीवन्त बनाएकाे थियाे ।
For More:-Grandfather Honored Graduation Gown


