सरकारले अनिश्चितकालका लागि रोक्यो ईभीसहितका सार्वजनिक सवारी साधनको दर्ता
८ जेठ, काठमाडौं।
सरकारले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी बनाउन भन्दै सार्वजनिक सवारी साधनको नयाँ दर्ता अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले जेठ ७ गते यस सम्बन्धि पत्राचार गरेको हो। पत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदुषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख छ।
साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहज अवस्था उत्पन्न भएको भन्दै त्यसको सम्बोधन आवश्यक रहेको उल्लेख गरिएको छ ।
“सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्का गर्न मनासिव देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्न आदेश दिन सक्ने ” रहेको उल्लेख गर्दै दर्ता रोक्का गरिएको पत्रमा उल्लेख छ।
अर्को सूचना जारी नभएसम्म विभागले सबै प्रदेशका यातायात हेर्ने मन्त्रालय र देशभर स्थानीय तहलाई यसबारे पत्राचार गरेको छ। यो व्यवस्था विद्युतीय सार्वजनिक सवारी साधनमा समेत लागू हुने पूर्वाधार विकास मन्त्रालयले स्पष्ट पारेको छ।
For More:-Public Vehicle Registration Halted


