नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
१५ साउन, काठमाडौं।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले नेपालमै पहिलोपटक ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी (मिक्स)’ प्रविधिमार्फत एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया गरेको जनाएको छ।
अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा चिकित्सकहरूको टोलीले करिब तीन घण्टाको शल्यक्रियामार्फत जटिल मानिने उक्त उपचार सफलतापूर्वक सम्पन्न गरेको हो। अस्पतालका अनुसार यो प्रविधिबाट एउटै बिरामीका तीन वटा मुटुका भल्भमा एकैपटक शल्यक्रिया गरिएको नेपालकै पहिलो घटना हो।
काठमाडौंका ५२ वर्षीय पुरुषको साउन ५ गते शल्यक्रिया भएको कार्डियाक सर्जन डा. अनिल भट्टराईले जानकारी दिए । शल्यक्रियाको नेतृत्व डा.भट्टराईले नै गरेका थिए । बिरामी साउन ११ गते अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डा. भट्टराईका अनुसार बिरामी केही महिनाअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल आएका थिए। परीक्षणका क्रममा उनलाई श्वास फेर्न कठिनाइ हुने, सामान्य हिँडडुलमै अत्यधिक स्वाँस्वाँ हुनेलगायत समस्या देखिएको थियो। विस्तृत परीक्षणपछि मुटुका तीन वटा भल्भमा गम्भीर समस्या रहेको पुष्टि भएपछि शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताए।
उनका अनुसार ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी’ विधिमा छातीको हड्डी चिर्नुपर्ने आवश्यकता पर्दैन। यसको सट्टा काखीमुनि सानो चिरा बनाएर शल्यक्रिया गरिने भएकाले बिरामीलाई कम पीडा हुने, संक्रमणको जोखिम घट्ने र अस्पतालमा बस्नुपर्ने समय पनि छोटिने फाइदा हुन्छ।
यो प्रविधि प्रयोग नगर्दा छाती चिरेर ठूलो घाउ बनाउनुपर्ने हुन्थ्यो । बिरामीलाई निको हुन बढी समय लाग्थ्यो । ‘मिक्स’ विधिबाट शल्यक्रिया गर्दा अहिले काखीमुनि सानो प्वाल मात्रै बनाइएको थियो । यसमा बिरामी छिटो निको हुने र शल्यक्रियापछिका संक्रमणको जोखिम समेत कम हुन्छ ।

