परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ: डा समीरा साफी खान
७ असोज, काठमाडौं।
सेप्टेम्बर महिना स्त्री रोगसम्बन्धी क्यान्सर सचेतना महिना हो । महिलामा हुने पाठेघरको क्यान्सरबारे केही छोटो कुरा गर्न गइरहेका छौँ ।
पाठेघरको क्यान्सर भन्नाले पाठेघरको एउटा मुखको क्यान्सर हुन्छ । अर्को पाठेघरको माथिल्लो भागको क्यान्सर हुन्छ र अण्डाशय (डिम्ब) को पनि क्यान्सर हुन सक्छ ।
यी तीनवटै भागका फरक–फरक प्रकारका स्क्रिनिङ टेस्ट (जाँच) हरू हुन्छन्, फरक–फरक चुनौतीहरू आउँछन् र फरक–फरक लक्षणहरू हुन्छन् । यी सबैलाई बुझ्न धेरै जरुरी छ, किनकी हामी क्यान्सर हुनबाट बच्न र लागि हालेमा पनि सुरुकै अवस्थामा यसलाई पत्ता लगाएर सही उपचार लिन सजिलो होस् ।
पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि प्याप स्मेयर गर्नुपर्ने हुन्छ । प्याप स्मेयरले पाठेघरको क्यान्सर लाग्नुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ । जसले गर्दा पाठेघरको क्यान्सरको रोकथाममा सहज हुन्छ । यो प्रत्येक ३–३ वर्षमा गर्न सकिन्छ ।
यसका साथै एचपिभी टेस्ट पनि गर्न सकिन्छ । एचपिभी टेस्ट भन्नाले ’ह्युमन प्यापिलोमा भाइरस’को जाँच हो, जसले पाठेघरको मुखको क्यान्सर गराउँछ । त्यस्तै, पाठेघरको क्यान्सरमा मासुको क्यान्सर (सार्कोमा) वा भित्री तहको क्यान्सर (एन्डोमेट्रियल कार्सिनोमा) हुन सक्छ ।
यस्तो अवस्थामा असामान्य रक्तस्राव, महिनावारी सुकेपछि रगत बगेमा पाठेघरको क्यान्सरजस्ता लक्षण देखिएमा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) र रगत जाँच गरेर सुरुकै अवस्थामा यसलाई पत्ता लगाउन सकिन्छ ।
त्यसैगरी, डिम्बशय (अण्डाशय) को क्यान्सर हुँदा धेरैजसो महिलाहरू ग्यास्ट्रिकको समस्या सम्झेर बसिरहन्छन् । ६ महिनाभन्दा बढी समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा पनि निको भएको छैन भने डिम्बशयमा क्यान्सर छ कि भनेर स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
यसका साथै आफ्नो परिवारमा कसैलाई पाठेघर वा स्तन क्यान्सरको इतिहास छ भने ती महिलाहरू अझ बढी जोखिममा हुन्छन् । कुनै लक्षण नदेखिए पनि प्रत्येक ३–३ वर्षमा स्त्रीरोग विशेषज्ञलाई भेटेर आफ्नो स्वास्थ्य परीक्षण गराउनाले क्यान्सरबाट बच्न सकिन्छ ।
(डा समीरा साफी खान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ ।)
For More: Family History Breast Uterine Cancer

