आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यकः मन्त्री शर्मा

access of information technology

९ बैशाख, काठमाण्डौं। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल एशोसियशन फर सफ्टवेर एण्ड आइटी कम्पनिज् (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताउनुभयो ।

उहाँले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आम नागरिकले बुझ्नुपर्नेमा उदाहरण दिंदै भन्नुभयो– ‘योग विज्ञान आजको होइन तर रामदेवले स्थापित गरेपछि योग घरघरमा पुग्यो ।

उत्पीडित समुदायको मुक्ति र अधिकारको नारा नयाँ होइन तर माओवादी जनयुद्धले त्यसलाई घरघरमा पुर्याएपछि मात्रै परिवर्तन संभव भयो ।

त्यसैगरी अब सञ्चार तथा सूचना प्रविधिको महत्व र औचित्य पनि आम जनताले महसुस गर्ने गरी स्थापित गर्नुपर्छ, ताकि यसलाई आफ्नो जीवनशैली बनाएर त्यसबाटै उनीहरुले जीवन सहज र सरल बनाउन सकून् ।

सञ्चार तथा सूचना प्रविधिको महत्व केही प्राविधिक व्यक्तिहरुले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताको रुपमा मात्र लिने भन्दा पनि सबैले सूचना प्रविधि क्षेत्र लाई आत्मसात गर्ने गरी यसको विकास गर्नपर्नुमा मन्त्री शर्माले जोड दिनुभयो ।

अब सुशासन र समृद्धिको आधार नै सञ्चार तथा सूचना प्रविधि क्षेत्र भएकाले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानुन परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट गर्नुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पुर्याएर हरेक विद्यालयमा यसलाई प्रतिष्पर्धाको विधा बनाउनुपर्ने बताउनुभयो ।

सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिष्पर्धा गराएर लाखौं युवाहरुलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उहाँले स्पष्ट गर्नुभयो ।

सो क्रममा नास आइटीका पदाधिकारीहरुले पालिका स्तरमा हरेक नागरिकको एकीकृत तथ्यांक व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपहरुलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here