१८ औँ नाडा अटो शो: ईभीप्रति बढ्दो आकर्षणबिच शनिबार ३५ हजारको भीड
१३ भदौ, काठमाडौं।
भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शो मा शनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ। आयोजकका अनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन्।
मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजारले अवलोकन गरेका थिए। तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण अटो शोमा अवलोकनकर्ताको चहलपहल केही घटेको थियो।
शुक्रबारदेखि भने पुनः अवलोकनकर्ताको संख्या बढ्न थालेको र शनिबार उत्साहजनक भीड देखिएको आयोजक संस्था नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले बिहानैदेखि नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूको बाक्लो उपस्थिति देखिएको थियो। विशेषगरी नयाँ विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरका स्टलमा अवलोकनकर्ताको बढी चाप देखिएको थियो।
यस वर्षको नाडा अटो शोमा नयाँ मोडल र नयाँ ब्रान्डको प्रवेशले पनि अवलोकनकर्ताको आकर्षण बढाएको छ। करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन् भने नाडा अटो शोमार्फत आधा दर्जनजति नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा आफ्नो उपस्थिति जनाएका छन्।
चारपांग्रे सवारीतर्फ ईभीमा विशेष आकर्षण देखिएको छ। नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो २, जेको जेफाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी–वान, ओरा फाइभ, लीपमोटर बी०३ र प्रोटोन इमास फाइभलगायतका नयाँ मोडलका स्टलमा अवलोकनकर्ताको बाक्लो भीड देखिएको छ।
ईभीको बढ्दो आकर्षणका बीच पेट्रोल सवारीसाधनप्रति पनि ग्राहकको चासो कायमै देखिएको छ। नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूलगायतका पेट्रोल गाडीमा पनि ग्राहकले चासोपूर्वक जानकारी लिइरहेका छन्।
दुईपांग्रे सवारीतर्फ नेपालमै उत्पादन भएको यात्री पी, यामाहा एक्सएसआर १५५, यामाहा आर १५, यामाहा फासिनो, अप्रिलिया एसआर १७६ तथा एक्सट्रीम २५० आरलगायत नयाँ मोडल हेर्न र बुझ्न चाहनेको भीड देखिएको छ। हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कप्रति पनि अवलोकनकर्ताको चासो देखिएको छ।
यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल र १३ वटा दुईपांग्रे ब्रान्डसहित ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। त्यस्तै, अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसहित २०० भन्दा बढी स्टल राखिएका छन्।
नयाँ मोडलसँगै कम्पनीहरूले ल्याएका आकर्षक छुट, बुकिङ योजना तथा वित्तीय सुविधाले पनि ग्राहकलाई अटो शोमै सवारी खरिद गर्ने वातावरण बनाएको छ। विशेषगरी ३० देखि ५० लाख रुपैयाँ मूल्य समूहका कार, नयाँ मोटरसाइकल तथा स्कुटरमा ग्राहकको चासो बढी देखिएको छ।
भदौ १४ गतेसम्म सञ्चालन हुने भएकाले अन्तिम दिनसम्म अवलोकनकर्ताको संख्या अझ बढ्ने आयोजकको अपेक्षा छ।
अटोमोबाइल व्यवसायमा आएको सुस्तताका बीच आयोजना भएको यस वर्षको नाडा अटो शोमा शनिबार देखिएको उत्साहले नेपाली अटो बजारमा ग्राहकको रुचि अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ।
For more: EV Demand Drives Record 35000 Saturday

