प्रबिधि दिवसको दिन भव्य अन्तरक्रिया

Role of Computer Faculty In Nepal

आईतबार, वैशाख २१, २०७७

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले राष्ट्रिय सूचना तथा संचार प्रबिधि दिवसको उपलक्ष्यमा “Education in Nepal During & After COVID-19 and Role of Computer Teachers” बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। कार्यक्रमलाई अतिथि बक्ताको रुपमा पूर्व शिक्षा मन्त्रि एवं विपद विज्ञ डा. गंगालाल तुलाधर, नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापा, नेपाल खुल्ला विश्वविध्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्मा, वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविध्यालयका पूर्व डिन प्रा. डा. मनप्रसाद वाग्ले, त्रिभुवन विश्वविध्यालय इन्जिनीयरिंग अध्ययन संस्थानका प्रा. डा. सुबर्ण शाक्य, वरिष्ठ जनस्वास्थ्यबिद एवं युनिभर्सिटी अफ हदर्सफिल्ड, बेलायतका प्रा. डा. पदम सिम्खडा र सामाजिक-राजनीतिक विश्लेषक एवं डेजी स्कूल पर्सा, चितवनका प्राचार्य प्रेमराज रिमालले सम्बोधन गर्नु भएको थियो। त्यस अघि कार्यक्रममा कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) का अध्यक्ष ई. प्रचन्द्र राम श्रेष्ठले अतिथि वक्ता तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो।

CFAN का महासचिव रमेश रिमालले संचालन गर्नुभएको कार्यक्रममा पूर्व शिक्षा मन्त्रि डा. गंगालाल तुलाधरले विपदको यस घडीमा शैक्षिक गतिविधिहरु संचालन गर्न गार्हो हुने भए पनि भविष्यका निम्ति आवश्यक नीति तर्जुमा गरि अघि बढ्नुपर्ने तथा त्यसको कार्यान्वयन तथा पूर्वाधार बिकाशको लागि कम्प्युटर प्राध्यापकहरु तथा  शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गर्नुभयो।

अर्का अतिथि वक्ता नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन कुमार थापाले शिक्षाको बिबिध आयामको बारेमा चर्चा गर्दै डिजिटल लर्निंग नै अबको विकल्प भएको र त्यसको सफल कार्यान्वयनको लागि  कम्प्युटर प्राध्यापकहरु तथा  शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गर्नुभयो । अनलाइन शिक्षा बन्द नै गर्ने पोखरा महानगरपालिकाको कदम गलत भएको भन्दै थापाले आवश्यक पूर्वाधार विकाश गरि e – Learning लाई सबैको पँहुचमा पुर्याउनु पर्ने विचार ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा नेपाल खुल्ला विश्वविध्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले खुल्ला विश्वविध्यालयमा भैरहेको अभ्यासबारे जानकारी दिदै  e – Learning को सफल कार्यान्वयनको लागि यो अनुभव प्रस्थान बिन्दु हुने बताउनुभयो। वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविध्यालयका पूर्व डिन प्रा. डा. मनप्रसाद वाग्लेले हाम्रो तयारी नपुगेको कारणले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काईसौ शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने बताउनु भयो।

त्रिभुवन विश्वविध्यालय इन्जिनीयरिंग अध्ययन संस्थानका प्रा. डा. सुबर्ण शाक्यले शिक्षा मात्र नभएर राज्यले प्रदान गर्ने सम्पूर्ण सेवाहरु अनलाइन मार्फत प्रदान गर्ने गरि e – Governance को कुरा सन् २००६ देखि नै उठेपनि त्यसको सफल कार्यान्वयन हुन नसक्दा आज समस्या भएको र अब पनि सम्बेदनशील भएर पूर्वाधार विकाशमा नलाग्ने हो भने भविष्यमा अझ ठुलो समस्या आउन सक्ने तर्फ सचेत गराउनु भयो।

त्यसैगरी उक्त अन्तरक्रियामा सहभागी हुदै वरिष्ठ जनस्वास्थ्यबिद एवं युनिभर्सिटी अफ हदर्सफिल्ड, बेलायतका प्रा. डा. पदम सिम्खडाले e – Learning का सम्बन्धमा बेलायतको अभ्यास सुनाउदै पूर्वाधार छैन, Digital Divide छ भनेर चुपलागेर बस्न नहुने बताउनु भयो। यो महामारीको समयमा स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिइएको भएपनि आवश्यक पूर्वाधार भएकोले बेलायतमा बिद्यालय / बिश्वविध्यालायामा शैक्षिक गतिबिधी सुचारु गर्न सजिलो भएको बताउनु भयो। सामाजिक-राजनीतिक विश्लेषक एवं डेजी स्कूल पर्सा, चितवनका प्राचार्य प्रेमराज रिमालले हाम्रो सामाजिक- आर्थिक अवस्थाको चर्चा गर्दै Digital Divide ले मानसिक समस्या समेत ल्याउन सक्ने अनि सरकार तथा विभिन्न संघ सस्थाको राहतको भरमा महामारीको यो क्षणलाई आधापेट खाएर मुकाबिला गरिरहेका परिवारका बिध्यार्थीहरु कसरि अनलाइन कक्षामा आउन सक्छन भन्ने प्रश्न गर्नुभयो। तथापी सूचना प्रविधि शिक्षा  अपरिहार्य रहेको, सबै बर्गका विद्यार्थीको पहुचमा पुग्नेगरी पूर्वाधार विकाश गर्नुपर्ने र त्यसका लागि काम गर्न ढिलो भैसकेको पनि उहाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here