Cyber Security Researcher In Nepalese Cyberspace, Rajanraj Pant

काठमाडौं । 

Cyber Security Expert and Consultant, As an Independent Cyber Security Researcher in Nepalese Cyberspace, Founder President of INSERT NP, ICT LEADER IN NEPAL, Mr. Rajan Raj Pant Profile in Brief.

“सूचना सुरक्षा अभियानमा” आइसिटीका हस्ती राजनराज पन्तको दैनिकी बन्दै

सरकारले आइसिटी क्षेत्रमा लगानी गरेर मात्र पुग्दैन, आइसिटीमा लगानीको वातावरण र रोजगारीको अवसर बढाउन नीजि क्षेत्रलाई पीपीपीको अवधारणा सँगै लाने सहज नीति बनाउनु आवश्यक छ भने आइसिटी क्षेत्रको मुख्य चुनौती बनेको साइवर क्राइम र सूचना सुरक्षाका लागि हाम्रो अभियान प्राविधिक र सूचना सुरक्षा व्यवस्थापनमा केन्द्रित हुन जरुरी छ ।

राजनराज पन्त (अध्यक्ष,आइटी सर्ट नेपाल)
सूचना प्रविधिको क्षेत्रमा दुई दशकदेखि बिभिन्न तह र क्षेत्रमा रहेर योगदान पुर्याएका आइसिटी हस्तीका रुपमा परिचित व्यक्तित्व हुन् राजनराज पन्त । पछिल्लो केही वर्षयता नेपालको सूचना प्रविधि क्षेत्रमा सेक्युरिटी विज्ञको रुपमा चिनिन्छन् पन्त । २०१७ साल आषाढ विहिबार लमजुङको चितिमा जन्मिएका राजनराज पन्तले माध्यमिक शिक्षा बीरेन्द्र मा.वि. चन्द्रगढी झापा र उच्च माध्यमिक सम्मको शिक्षा मेची क्याम्पस झापाबाट हासिल गरेका हुन् । आर्टस एकेडेमी संकायतर्फ त्रिचन्द्र क्याम्पसबाट शैक्षिक योग्यता हासिल गरेका पन्तले ७ वर्षको अन्तरालपछि भारतको महाराष्ट्र शिवानी युनिभर्सिटीबाट एमबीए आइटी गरे । नेपालमा आइटीको सम्भाव्यता र आफ्नो भविष्य देखेका पन्तले एकेडेमी प्रोफेसन विल्डअप का लागि नै एमबीए आइटी गरेका हुन् । एमबीए आइटी पश्चात पन्त नेपालको सूचना प्रविधि क्षेत्रमा सामाजिक तवरले कम्प्युटर एसोसियसन अफ नेपाल क्यानमा प्रोफेसनल रुपमा लागि परे ।

नेपालको आइटी इण्डस्ट्रिजलाई लगानीको अवसरको रुपमा परिचालित गर्न राजनराज पन्तले क्यानमा रहदा देखि नै भूमिका निर्वाह गर्दै दुई कार्यकाल बिताए । त्यो सँगै पन्तले आइटीका थप एकेडेमिक तथा व्यवसायिक कोर्षहरु गर्न पनि छाडेनन् । आइटीमा काम गर्नेले आफूलाई थप दक्ष विज्ञ बनाउन आइटीभन्दा अन्य एकेडेमिक क्षेत्रको पनि ज्ञान हासिल गर्नुपर्दछ भन्ने मान्यता राख्दै पन्तले एमआइटी गरेको १५ वर्षपछि ल क्याम्पसबाट एलएलबी गरे । राष्ट्रिय सूचना प्रविधिको सर्टिफिकेट अफ प्रोग्रामिङमा रहेर काम गरेका गर्दै मद्रासको एनआईआइटीबाट पोष्ट ग्रयाजुएट तह सम्मको शिक्षा लिएका पन्त खानाको नयाँ रेसिपी बनाउनमा सौखिन छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय आइसिटीका दर्जनभन्दा बढी इभेन्टहरुमा प्रत्यक्ष सहभागी बन्दै त्यहाँबाट सिकेका प्रविधिका नयाँ सूचना र जानकारीलाई नेपालको आइसिटी क्षेत्रमा सरकारी क्षेत्रबाट प्रवाह गराउने भूमिकामा पनि पन्तको झण्डै एक दशकको योगदान छ । विज्ञान तथा प्रविधि मन्त्रालयको प्रमाणीकरण नियन्त्रणको कार्यालयको नियन्त्रकमा ५ वर्ष ३ महिना काम गर्दै डिजिटल हस्ताक्षर र सूचना सुरक्षा नीति लागू गर्न सफल भएका पन्त त्यसपछि बढी चर्चामा छन् । प्रमाण्ीकरणको नियन्त्रकमा रहदा पन्तको मिडिया टक कार्यक्रम सरकारी आइसिटी चेतना अभियानमा लागि निकै लोकप्रिय समेत बनेको थियो । प्रत्येक महिना सूचना प्रविधि, साइवर सुरक्षा लगायतका विषयमा आइसिटी विटमा लेख्ने पत्रकारहरुका लागि सो कार्यक्रम लक्षित थियो र सोही विषयको जानकारी पत्रकारले कार्यक्रम पश्चात आ आफ्ना मिडियामार्फत आम नागरकिलाई सू—सुचित गराउथे ।

नेपालको आइसिटी क्षेत्रमा बिभिन्न तवरबाट महत्वपूर्ण योगदान पुर्याए वापत पन्तले एक दर्जन जति अवार्ड र सम्मान पाएका छन् । जसमध्ये वेष्ट आइटी प्रोफेसनल सम्मान सन् २००९ क्यानबाट, वेष्ट सेक्युरिटी इनिसेएटिभ अवार्ड गर्भमेन्ट क्षेत्रबाट, पायोनियर पीकेआई प्रोजेक्ट एचसिएल अवार्ड २०१२ ले राजनराज पन्तको आइसिटी प्रोफेसनालिजमलाई चिनाएको छ । पन्तले सन् १९८३ मा वेष्ट जेसिस अवार्ड वल्र्ड फोरमको तर्फबाट समेत पाएका छन् ।

सूचना प्रविधिमा बढ्दो ह्याकिङ, साइवर हमला र डाटा चोरीका घटनाहरु विश्वलाई आतंकित बनाइरहेको अवस्थामा आइसिटीको खुट्किलो उक्लदै गरेको नेपालजस्तो विकासोन्मुख देशहरुमा सूचना सुरक्षाको संकट बढ्दैछ तर यसप्रति सरकारी निकाय गम्भीर देखिदैन । नीजि क्षेत्रका दशकदेखि सञ्चालित आइटी कम्पनी तथा आइसिटी प्रोफेसनलहरु सचेत छन् तर कष्ट कटिङगको सिद्धान्तले गर्दा आइसिटी क्षेत्रमा सूचना सुरक्षाको चुनौती चुलिदै गएको रानराज पन्त बताउनुहुन्छ । सस्तोमा काम गराउने प्रबृत्ति, नेपाली कम्पनीलाई विश्वास नगर्ने र आज चले भइहाल्छ भन्ने सोचाईले सूचना तथा डाटा चोरीका घटना, ह्याकिङ, इन्टरनेट फ्रडसँगै अनलाइन भुक्तानी असुरक्षित बन्दै गएको छ नेपालमा ।

यसका लागि व्यापक चेतना र इन्टरनेट प्रयोगकर्ताले सावधानी अपनाउनुमा नै बुद्धिमानी देखिन्छ तर यसका लागि एडभोकेसी कसले गर्ने त्यसको विज्ञ को भन्ने प्रश्न तेर्सिएको छ । यसका लागि अब हामी आइटिमा वर्षैदेखि लागेकाहरुले सरकारको सहकार्यमा साइवर सेक्युरिटी अर्थात सूचना सुरक्षा अभियान व्यवसायिक भएर लाग्नुपर्ने भएको छ । यसै कुरालाई मध्यनजर गरेर हामीले आइटी सर्ट नेपाल नामक सूचना सुरक्षा अभियानको सुरुवात सामाजिक संस्थागत रुपमा अगाडी बढाएका छौं । राष्ट्रियस्तरमा एक दर्जन भन्दा बढी, आइटी बैकिङ्ग लगायतका क्षेत्रहरुमा सूचना सुरक्षा, साइवर क्राइम, ह्याकिङ सम्बन्धी वर्कशपहरु सञ्चालन गरिसकेका छौं । यसबाट बिभिन्न क्षेत्रको सूचना तथा डाटा सुरक्षामा सकारात्मक प्रतिक्रिया आएको छ । जसबाट हामी उत्साहित छौं ।

चीन र भारतजस्तै नेपाल पनि आइटीको हब बन्न सक्छ यसका लागि सरकारले आइटीमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने नीति ल्याउन आवश्यक छ भने पब्लिक पार्टनशीप प्रोजेक्टको रुपमा आइटी क्षेत्रलाई अगाडी बढाउन सके केही वर्षमा नै नेपालको आर्थिकस्तर उच्च बनाउन सकिनेमा कुनै दुबिधा छैन राजनराज पन्तले भने । लगानीको वातावरणले रोजगारीको अवसर बढाउने हुदा आइटीका युवा पुस्ताहरु नेपालमा नै आत्मनिर्भर बन्न सक्नेछन् । आइटीमा लगानीको स्रोत थपिदै जादा यस क्षेत्रमा सूचना, सुरक्षा, डाटा चोरी, ह्याकिङका घटनाहरु आइटी क्षेत्रका चुनौतीका रुपमा तेर्सिएका भए पनि यसलाई मनन गरी प्राविधिक र सुरक्षा व्यवस्थापन गर्न लगानीको कन्जुस्याई गर्न नहुने पन्तको तर्क छ ।

की काम गर्नु नै भएन काम गरेपछि भविष्यमा आइपर्ने समस्याको पहिचान सुरुवातमै गरी व्यवस्थापन गर्न किन पछि हट्ने ? पन्त भन्छन्, आइसिटी क्षेत्र लगानीकर्तालाई उच्च प्रतिफल दिलाउने सम्भावना बोकेको क्षेत्र हो यस क्षेत्रमा लगानी गर्दा जोखम व्यवस्थापन गर्न जाने मान्छेको जिन्दगीमा नसोचेको सफलता मिल्नेछ । त्यसैले आइसिटी क्षेत्रमा प्राविधिक र सूचना सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी छ । अबको आइसिटीको हाम्रो अभियान सूचना, सुरक्षा ध्यान दिई साइवर क्राइम हुन नदिनेतर्फ केन्द्रित हो पन्तले भने ।