विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

Cyber ​​education

२४ कात्तिक, काठमाडौँ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभएको छ ।

फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताउनु भएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयोा ।

सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो ।

यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उहाँले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताउनुभयो । समाजमा सूचना प्रविधिको दुरुपयोगका घटना पनि बढ्न थालेकाले यसप्रति सरकार गम्भीर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

‘हिजो मात्रै हामीले मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका पारित गरेका छौं’– मन्त्री शर्माले भन्नुभयो– ‘सामाजिक सञ्जाल एकातिर अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो र यसबाट राम्रो आयआर्जन पनि भएको छ भने अर्कोतिर यसबाट मानिसका व्यक्तिगत सुरक्षादेखि सामाजिक प्रतिष्ठा र सामाजिक सद्भावविरुद्धका काम पनि भइरहेका छन्, त्यसैले यसको प्रयोगमा सबै प्रयोगकर्ताहरु सचेत रहनुपर्छ भन्ने नै निर्देशिकाको मूल मर्म रहेको छ ।

यो सूचना र प्रविधिको युगमा जुन जुन क्षेत्रमा यसको प्रयोग बढाउँदै लगिएको छ, ती क्षेत्रले सकारात्मक नतिजा दिने गरेका छन्’– मन्त्री शर्माले भन्नुभयो– ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएर लैजानुपर्छ।

त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कले मार्गदर्शन गरे पनि अपेक्षित परिणाम आउन सकिरहेको छैन, यसमा सबै पक्षमा गम्भीर हुन आवश्यक छ ।

सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकास गर्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासबाट देखिएको स्पष्ट गर्दै उहाँले पछिल्लो समय नेपाल सरकारले पनि यसलाई आधारभूत आवश्यकताको रुपमा परिभाषित गरेको बताउनुभयो ।

‘सूचना र प्रविधिको विकास गरेर यसकै माध्यमबाट देशलाई समृद्धिको बाटोमा अघि बढाउन विभिन्न काम भइरहेका छन्’– मन्त्री शर्माले भन्नुभयो– ‘सूचना प्रविधिको माध्यमबाट गरिने आर्थिक क्रियाकलाप गर्दा भूपरिवेष्टित देश वा धनि गरीव भनेर पछि पर्ने अवस्था नभएकाले नेपालका लागि यो अझ बढी महत्वपूर्ण छ ।’

कार्यक्रममा मन्त्री शर्माले शुभकामना वि.सं. २०१६ सालमा फूल्चोकी माध्यमिक स्थापनाका लागि पहल गर्ने संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ तथा सदस्यहरु बुद्धिबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी र न्हुच्छेदास नापितका सालिक अनावरण तथा विद्यालयको विकासमा योगदान गर्नेहरुको इतिहास संस्थागत गर्न प्रकिाशत स्मारिका विमोचन गर्नुभएको थियो ।

उहाँले पालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सफल नेतृत्व गरेको भन्दै गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई पनि सम्वोधन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here