के नेपालका शैक्षिक संस्थाको परीक्षा प्रणालीमा परिवर्तन सम्भव होला ? CFAN

CFAN

आईतबार, जेठ ११, २०७७

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) ले “ परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली ” बिषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । कार्यक्रमलाई अतिथि बक्ताको रुपमा सुदूर पश्चिमान्चल विश्वविध्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशी, त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्मा, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल, सी एस आइ टि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्याल र प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सम्बोधन गर्नु भएको थियो । त्यस अघि कार्यक्रममा कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (CFAN) का उपाध्यक्ष सत्यराम सुवालले अतिथि वक्ता तथा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

CFAN (सिफ्यान) का महासचिव रमेश रिमालले संचालन गर्नुभएको कार्यक्रममा सुदूर पश्चिमान्चल विश्वविध्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीले महामारीको कारणले पारम्परिक शिक्षा प्रणालीमा आघात परेको छ । बिकसित मुलुकहरुमा आवश्यक पूर्वाधार भएकाले डिजिटल माध्यमबाट शैक्षिक गतिविधिहरु संचालन गर्न सम्भव भएको भए पनि नेपालमा अप्ठ्यारो स्थिति रहेको अझ परीक्षा जस्तो सम्बेदनशील कुरामा धेरै गृहकार्य गर्नुपर्ने बताउनुभयो। अहिले रोकिएका परीक्षाको सम्बन्धमा परिस्थितिजन्य निर्णय उपयुक्त समयमा आउला तर भविष्यका निम्ति समग्र परीक्षा प्रणाली र परीक्षा संचालन गर्ने निकायमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव पनि भएको प्रा. जोशीले बताउनु भयो ।

अर्का अतिथि वक्ता त्रिभुवन विश्वविध्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले सानो बिद्यार्थी संख्या भएका कार्यक्रममा अनलाइन कक्षा संचालन भैरहेको भए पनि बिद्यार्थी संख्या धेरै भएका कार्यक्रमका सबै बिद्यार्थीहरु अझै सम्पर्कमा ल्याउन नसकिएको अवस्थामा रोकिएका परीक्षा फरक ढंगले गर्ने कुरा अहिले गाह्रो हुने बताउनु भयो। तर अहिलेको भन्दा प्रभावकारी र बैज्ञानिक मुल्यांकन पद्धतिमा जाने र त्यसकालागि सम्बद्ध निकायमा आवश्यक सुधार ल्याउने कुरा सम्भव छ र त्रिविवि  ले त्यस दिशातर्फ कदम अगाडी बढाई सकेको पनि उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा काठमाडौँ विश्वविध्यालयका रजिस्ट्रार प्रा. डा. सुबोध शर्माले नेपालको विद्यमान परीक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव रहेको बताउनुभयो । डिजिटल माध्यमबाट सम्पूर्ण शैक्षिक गतिबिधि संचालन गर्नु आर्थिक, वातावरणीय तथा अन्य बिबिध कोणबाट फलदायी हुने बताउदै सामान्य अवस्थामा मिश्रित बिधि उपयोग गर्न सकिए पनि अहिलेको जस्तो अप्ठ्यारो अवस्थामा अनलाइन शिक्षाको कुनै विकल्प नरहेको बताउनु भयो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले रोकिएका परीक्षा कसरि संचालन गर्ने भन्ने बारेमा विभिन्न कोणबाट अध्ययन भइरहेको भएपनि अहिले सबैको पहिलो प्राथमिकता स्वास्थ्य हुनुपर्छ भन्दै नआत्तिकन घरमा नै बस्न सम्पूर्ण विध्यार्थीहरुलाई आग्रह गर्नुभयो । सरकार तथा जनस्वास्थ्यबिदहरुले अब परीक्षा संचालन गर्दा हुन्छ भने पछी २ देखि ३ हप्ताको समय दिएर परीक्षाको तालिका प्रकाशन गरिने उहाँले बताउनु भयो । परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका मुलुकहरुको मुल्यांकन अभ्यासलाई हेरेर हामी पनि त्यस तर्फ अग्रसर छौ, उहाँले भन्नु भयो ।

कार्यक्रममा अर्का बक्ता सी एस आइ टि कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले पाठ्यक्रमको उद्देश्य पुरा भयोकि भएन भनेर हेर्ने माध्यम परीक्षा हो भन्दै पाठ्यक्रम परिमार्जन नगरी परीक्षा प्रणाली मात्र परिवर्तन गरेर पुग्दैन भन्नुभयो । नेपालमा अहिलेकै अवस्थामा शिक्षक आधारित परीक्षा प्रणाली बिस्वसनिय हुन नसक्ने भन्दै केहि अगाडी गरिएको परिवर्तनले बिध्यार्थीहरुको गुणस्तरमा कमि ल्याएको पनि उहाँले बताउनु भयो ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले कोविड- १९ का कारण परीक्षा संचालन गर्न अप्ठ्यारो अवस्था भएकोले यो एक बर्षका लागि मात्र भए पनि SEE का बिध्यार्थिहरुलाई आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्नु पर्ने बताउदै कक्षा ११ को पनि आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्ने पद्धति शुरु गर्नुपर्ने बताउनु भयो । कक्षा ८ मा पालिका स्तरमा, कक्षा १० मा प्रदेश स्तरमा र कक्षामा राष्ट्रिय स्तरमा परीक्षा संचालन गर्नुपर्ने बताउदै अध्यक्ष पुरीले अन्य कक्षामा बिध्यार्थिहरुलाई सबै भन्दा नजिक बाट चिन्ने र बुझ्ने, उनीहरुलाई पढाउने शिक्षकहरु बाट नै मुल्यांकन गराउनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा CFAN का अध्यक्ष ई. प्रचन्द्र राम श्रेष्ठले सम्पूर्ण अतिथि वक्ता तथा सहभागीहरुई उनीहरुको साथ, सहयोग र महत्वपुर्ण बिचारको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य गरेर बढ्न सिफ्यान तयार रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here