राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त: कसलाई कस्तो सजाय र जरिवाना ?
७ असोज, काठमाडौं।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम पालना नगर्ने ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ।
केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार तोकिएको पुँजीकोष अनुपात कायम गर्न नसकेका चारवटा लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने अनिवार्य नगद मौज्दात (CRR) नराख्ने दुई संस्थालाई नगद जरिवाना गरिएको छ।
न्यूनतम पुँजीकोष अनुपात नपुगेर कारबाहीमा पर्नेहरूमा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड (सुनसरी), धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (बागलुङ), मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड (बूढानीलकण्ठ, काठमाडौं) र एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड (बनेपा) रहेका छन्।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत मात्रै न्यूनतम पुँजीकोष अनुपात कायम गरेको थियो। त्यस्तै, धौलागिरी लघुवित्तको पुँजीकोष अनुपात ६.३८ प्रतिशत, मातृभूमि लघुवित्तको ४.०८ प्रतिशत र एनआईसी लघुवित्तको ६.३९ प्रतिशत रहेको थियो। नियामकीय मापदण्डअनुसार अनुपात कायम नभएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, तोकिएको समयमा अनिवार्य नगद मौज्दात कायम नगर्ने दुई लघुवित्त संस्थाहरूलाई पनि नगद जरिवाना गरिएको छ। वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (बनेपा, काभ्रेपलाञ्चोक) लाई २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात नराखेका कारण पहिलो पटकका लागि नगद जरिवाना गरिएको छ।
साथै, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (तुलसीपुर, दाङ) लाई २०८२ चैतदेखि २०८३ असारसम्म विभिन्न महिनाहरूमा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि पहिलो, दोस्रो, तेस्रो र चौथो पटक गरी जरिवाना गरिएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ।
केन्द्रीय बैंकले वित्तीय अनुशासन कडाइका साथ पालना गराउन र लघुवित्त क्षेत्रको सुदृढीकरणका लागि सुपरिवेक्षण तथा कारबाहीलाई निरन्तरता दिँदै आएको छ।
For More: Central Bank Action

