भोटेकोशी बाढीपीडितका लागि KFHI र CDPN को राहत सामग्री हस्तान्तरण
८ असोज, काठमाडौं।
Korea Food for the Hungry International (KFHI) को आर्थिक सहयोग तथा Child Development Program Nepal (CDPN) को समन्वयमा भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारका लागि राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
CDPN Nepal ले KFHI को आर्थिक सहयोगमा भदौ ११ गतेदेखि नै राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यसै क्रममा २०२६ सेप्टेम्बर १६ गते नुवाकोटको तुप्चेमा बिदुर नगरपालिकासँगको सहकार्यमा १०० परिवारलाई ग्यास सिलिन्डरसहित विभिन्न भान्साका सामग्री सहयोग गरिएको छ।
त्यसैगरी, रसुवाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत सडक तथा सवारीसाधनको पहुँच नपुगेका क्षेत्रमा WFP सँगको सहकार्यमा हेलिकप्टरमार्फत खाद्यान्न तथा आवश्यक राहत सामग्री पठाई सहयोग गरिएको छ।
शैक्षिक क्षेत्रमा समेत सहयोगलाई निरन्तरता दिँदै २०२६ सेप्टेम्बर २१ गते नुवाकोटस्थित त्रिशूली माध्यमिक विद्यालयमा करिब १,००० विद्यार्थीका लागि स्टेशनरी सामग्री तथा खेलकुद सामग्री सहयोग गरिएको छ।
यसैगरी, नुवाकोटको बिदुर–बटारस्थित हिमालयन एकेडेमीमा आश्रय लिइरहेका रसुवाका १०० परिवारलाई पनि आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ। राहत सामग्रीमा कम्बल, म्याट्रेस, टावल, मच्छरदानी, टी–सर्ट, चप्पल, नुहाउने साबुन, लुगा धुने साबुन, टूथपेस्ट, ब्रस तथा सामान राख्ने झोला लगायतका सामग्री रहेका छन्। साथै, विद्यालय जाने बालबालिकाका लागि ३० थान स्कुल झोला तथा झोलाभित्र आवश्यक शैक्षिक तथा खाद्य सामग्री समेत उपलब्ध गराइएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा KFHI का निर्देशक तथा नेपाल प्रमुख पार्क सर, CDPN का प्रतिनिधि बालकृष्ण भट्टराई तथा साथी कम्प्युटरका रणजीत पोद्दार लगायतको सहभागिता रहेको थियो।
KFHI ले बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई आपत्कालीन अवस्थामा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सहयोग गरेको जनाएको छ। संस्थाले विपद्को समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै शिक्षा, स्वास्थ्य तथा समुदायको पुनर्स्थापनामा सहयोग पुर्याउँदै आएको छ।
बाल विकास कार्यक्रम नेपाल (CDPN) ले बालबालिका तथा समुदायको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएको छ। विपद्का समयमा प्रभावित परिवार तथा बालबालिकाको तत्कालीन आवश्यकता पूरा गर्न स्थानीय तह तथा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
For more: CDPN Deliver Critical Relief to Bhote Koshi Flood Victims

