०८ फागुन २०७६, काठमाडौं ।
सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा शुक्रबार देखि बुधबार सम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकन कर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ ।
१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा यो पटक सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो ।
प्रविधिमा रुची राख्नेहरु उत्साहित
स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आईसिटी) पढाई हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो । प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई-टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए ।
त्यस्तै, सूचना प्रविधि विषयको पढाई हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो । प्रदर्शनीले आफुहरुलाई धेरै सामु चिनाउन सहयोग पुगेको र प्रविधिको क्षेत्रमा थप अघि बढ्ने हौसला पाएको प्रदर्शनीमा सहभागी स्टार्ट अप तथा कलेजहरुले जनाएका छन् ।
‘हामीले अत्याधुनिक प्रिन्टर बनाएका थियौं, यो प्रदर्शनी भन्दा पहिले खासै कसैले चासो दिएको थिएन । तर हामीले यहाँ स्टल राखेपछि धेरै जनाले तपाईँ त फलानो होइन भन्दै सोध्न थालेका छन्, यो विषयमा बुझ्न चाहनेहरु धेरै रहेछन भन्ने लागेको थाहा पाइयो,’ प्रदर्शनीमा स्टल राखेका दिवस केसीले भने ।
यस्तै पूल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने अस्मित सिलवालले क्यान इन्फोटेक प्रदर्शनी प्रति रहेको नकारात्मक धारणा बदल्न यस पटकको प्रदर्शनी सफल रहेको बताए ।
‘रोबोटिक्स क्लवको तर्फबाट हामीले मंगोलियामा सहभागिता जनाएका थियौं, त्यतिबेला खासै चर्चा भएन, तर क्यान इन्फोटेकमा हामीले स्टल पाए पछि धेरैले चासो राख्नुभयो, हाम्रो प्रडक्टबारे जानकारी लिनुभयो, त्यसैले लाखौं माझ पुग्न सफल भएका छौं, यसले हामीलाई निकै उत्साहित बनाएको छ,’ उनले भने ।
क्यान इन्फोटेकलाई ज्ञान आदान प्रदानको रुपमा विकसित गर्न सफल भएका छौं : अध्यक्ष कुँवर
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपटकको प्रदर्शनीले क्यान इन्फोटेकमा सामान किनबेच मात्रै हुन्छ भन्ने भ्रम चिर्न सफल भएको बताए । विगतका केहि प्रदर्शनीमा विद्युतीय सामग्री किनबेचलाई प्राथमिकता दिएको भन्दै आलोचना भएपछि क्यान महासंघले यस पटक देखि नयाँ प्रविधिको प्रदर्शनी र ज्ञान आदान प्रदानलाई विशेष जोड दिएको छ ।
‘सामान किनबेच अनलाइनबाट पनि हुन थाल्यो, क्यान इन्फोटेकमा नयाँपन दिन हामीलाई चुनौती थियो, यसपटकको प्रदर्शनीमा हामीले कारोबारलाई भन्दा पनि ज्ञान आदान प्रदान लाई जोड दियौं र सफल पनि भयौं,’ अध्यक्ष कुँवरले भने ।
सूचना प्रविधिको आविष्कारमा नयाँ पुस्ताको आकर्षणबाट स्वयम् क्यानले पनि धेरै कुरा सिक्न पाएको र सरकारसँग सहकार्य गरेर आविष्कारको क्षेत्रमा लाग्नेहरुलाई सधैँ साथ दिने उनको भनाई थियो ।
अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेम वर्कलाई सघाउन महासंघ जुनसुकै बखत तयार रहेको बताए । सहरी क्षेत्रमा तीब्र विकास र उपयोग भइरहेको सूचना प्रविधिलाई गाउँगाउँसम्म लैजानुपर्नेमा उनले जोड दिए ।
यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मूख्य सहरमा विस्तार गर्ने योजना अन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।
छूट अफरले थप आकर्षक बन्यो प्रदर्शनी
यस पटकको क्यान इन्फोटेकमा विभिन्न कम्पनीले दिएको छूट अफरमा दर्शकको विशेष चाँसो देखिएको थियो । एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको थियो भने भ्वाइस कल र डाटा प्याकमा आकर्षक अफर समेत दिएको थियो । यस्तै इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक, सुविसु, भायनेट लगायतका कम्पनीहरुले अवलोकन कर्ताहरुका लागि विभिन्न प्याकेजहरु दिएका थिए । मोबाईल, एसेसरिज लगायतका सामानमा बिभिन्न ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न अनेक छूट तथा अफरहरु राखेका थिए । केही कम्पनीले त ५० प्रतिशत सम्म छूट दिएका थिए ।
विशिष्ट व्यक्तिको चासो
यस पटकको क्यान प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको समेत चाँसो देखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, विभिन्न दलका सांसदहरु, हास्य कलाकार दीपक राज गिरी,मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् ।
क्यान इन्फोटेकमा पुरष्कृत
यस बर्षको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरु मध्यबाट आयोजकले उत्क्रिष्ठ कम्पनीमा एन.सेल प्रा.ली र भायनेट प्रा ली. लाई छनोट गरी पुरष्कृत गरेको छ | त्यसैगरी उत्क्रिष्ठ स्टार्टअप र इनोभेसन तर्फ स्मार्ट क्लिक अटोमेसन सेवा (स्मार्ट घर, होमअटोमेशन) लाइ पुरष्कृत गरिएको छ |
छ दिन सम्म चलेको अनलाइन गेममा डोटा टू र सी.यस गो को बिजेता उत्क्रिष्ठ टीमहरुलाईरु १ लाख रुपैयाँले पुरस्कृत गरिएको छ |