काठमाडौं, माघ १०
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताउनु भएको छ ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को प्रतिनिधिमण्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले तिब्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको पनि बताउनु भयो ।
‘हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचना प्रविधि तथा इन्नोभेसनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ । डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो,’ प्रम ओलीले भन्नु भयो । उहाँका अनुसार समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्प पूरा गर्न पनि सूचना प्रविधिको विकासको विकल्प छैन ।
त्यसैगरी, प्राकृतिक तथा मानवीय जायज आकांक्षा पूर्ति गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटलाइजेशन आवश्यक रहेको र त्यसका लागि क्यान महासंघले नेतृत्व लिनुपर्ने प्रम ओलीले बताउनु भयो ।
उहाँका अनुसार विकासको गति तिब्रतर बनाउनका लागि पनि सूचना तथा सञ्चार प्रविधिको विकास आवश्यक छ र त्यस क्षेत्रको नेतृत्व क्यानले लिनुपर्छ ।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख (constructive and disruptive) प्रविधि विकास एवं आर्टिफिसियल इण्टेलिजेन्स तथा इण्टरनेट अफ थिङ्स जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेका बताउनु भयो ।
क्यान महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीति, सूचना प्रविधिका उपकरण आयात निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवद्र्धन लगायत विषयमा सम्मानीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।