काठमाडौ, मंसिर १
कम्प्युटर एसोसिएसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन सम्पन्न भएको छ । सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डे समूहबीच प्रतिस्पर्धा हुँदैछ । ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ र पाण्डे पक्षबाट २ जना निर्विरोध निर्वाचित भएका छन् ।
मंसिर ७ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा वस्तुगत समूहबाट ४ पदका लागि कुँवर पक्षबाट नारायण थापा, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा र भोजराज भट्टको मात्र उम्मेदवारी परेको छ । प्रत्येक प्रदेशबाट २ जनाको दरले १४ जना निर्वाचित हुने जिल्ला शाखा सदस्यतर्फ कुँवर समूहबाटै प्रदेश २ बाट दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ, प्रदेश ५ बाट रेशम गिरी र ध्रुवराज शर्मा, कर्णाली प्रदेशबाट दलबहादुर खड्का र भीम मल्ल, सुदूरपश्चिम प्रदेशबाट हर्क सेठ्ठी र खेमराज ढुंगानाको मात्र उम्मेदवारी परेको छ । जिल्ला शाखाबाट संयुक्त रुपमा प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनालीको उम्मेदवारी परेको छ । त्यस्तै व्यक्तिगत साधारण समूह महिलातर्फ ३ पदका लागि कुँवर समूहका तर्फबाट रत्नतारा बैद्य, पाण्डे समूहबाट गुणकेशरी प्रधान र सुष्मा शर्माको उम्मेदवारी परेको छ ।For more details: click here