बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६’ सम्पन्न, कोशीबाट ‘सफारी यात्री’ र बागमतीबाट ‘सम्पर्क डिजिटल’ उत्कृष्ट
८ असार, काठमाडौं ।
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमको समापन तथा अन्तिम चरण काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी र बागमती प्रदेशका उत्कृष्ट स्टार्टअप टोलीहरूले आफ्ना नवीनतम सोच, प्रविधिमा आधारित समाधान तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए।
रचना खरेलले सञ्चालन तथा समन्वय गर्नुभएको उक्त कार्यक्रमले नव-उद्यमीहरूलाई अनुभवी विज्ञ तथा सफल व्यवसायीहरूसँग प्रत्यक्ष सिक्ने र बजारसँग जोडिने अवसर प्रदान गरेको थियो ।
स्टार्टअप निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया: प्रा.डा. सुदन झा कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुदन झाले स्टार्टअप यात्रा निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताउनुभयो ।
स्टार्टअपलाई “सिक्ने, सिक्ने र निरन्तर सिक्ने प्लेटफर्म”का रूपमा व्याख्या गर्दै उहाँले उद्यमीहरूलाई समाजमा सकारात्मक प्रभाव पार्ने खालका नवीन विचार विकास गर्न र अनुसन्धानमा आधारित भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
त्यसैगरी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठले स्टार्टअपहरूले ग्राहकको आवश्यकता बुझेर सही बजार पहिचान गर्नुपर्ने र प्रभावकारी व्यवसायिक मोडल निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
प्रतीक इनोभेसन्सका संस्थापक तथा सीईओ जतिन भुसालले केवल रोजगारीप्रतिको असन्तुष्टिका कारण मात्र नभई स्पष्ट उद्देश्य र दीर्घकालीन सोचका साथ उद्यमशीलतामा लाग्न प्रेरित गर्नुभयो ।
यस्तै, टिङ टिङका सीबीओ सुजन प्रजापतिले नेपाल स्टार्टअपका लागि सम्भावनायुक्त बजार भएको उल्लेख गर्दै कम्पनी दर्ता भन्दा पनि स्रोत र लगानी जुटाउनु अझै चुनौती रहेको बताउनुभयो ।
कोशी र बागमतीका विजेतालाई जनही १ लाख रुपैयाँ कार्यक्रममा कोशी र बागमती प्रदेशबाट उत्कृष्ट पाँचमा पर्न सफल स्टार्टअपहरूबीच तीव्र प्रतिस्पर्धा भएको थियो ।
कोशी प्रदेश: लोकल बजार, मेडिक्याब टेक्नोलोजिज, माइन्ड ब्रिज, सफारी यात्री तथा भोल्ट भी (Volt V) मध्येबाट ‘सफारी यात्री’ विजेता घोषित भयो ।
बागमती प्रदेश: क्लाउड साथी, म्याच२४ अर्बिटल्स, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी तथा द भिजनरी नेपाल मध्येबाट ‘सम्पर्क डिजिटल लोयल्टी’ विजेता बन्यो ।
विजेता टोलीहरूले प्रमाणपत्रसहित नगद पुरस्कार रु. १ लाख प्राप्त गरे भने उत्कृष्ट पाँचमा पर्न सफल सबै टोलीहरूलाई सहभागिता प्रमाणपत्र र मेन्टर तथा वक्ताहरूलाई मायाको चिनो (Token of Love) प्रदान गरिएको थियो ।
मेन्टर तथा निर्णायक टोली कार्यक्रमलाई सफल बनाउन अनुभवी मेन्टरहरू प्रशान्त फुयाँल, अस्मी कार्की, राज विक्रम महर्जन, भुषण राज गिरी, विकास कर्ण, मनोज कुमार घले र सन्तोष पौडेलले व्यवसायिक मार्गदर्शन प्रदान गर्नुभएको थियो ।
त्यस्तै, बुटक्याम्प चरणका निर्णायकहरूमा बागमतीबाट नरेश लाम्गादे, सुमनलाल प्रधान, संजय पौडेल र विकास पोखरेल तथा कोशीबाट इन्जिनियर चन्द्र प्रसाद आचार्य, इन्जिनियर केशव भण्डारी र दिलिप भट्टराई हुनुहुन्थ्यो ।
अन्तिम चरणको निर्णायक मण्डलमा प्लान इन्टरनेसनल नेपालकी चिफ अफ पार्टी सजना महर्जन अमात्य, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सल्लाहकार सञ्जय पौडेल र लिपफ्रग टेक्नोलोजीका निर्देशक अनुकुर शर्मा रहनुभएको थियो ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति समापन समारोहमा पूर्वमन्त्री गणेश साह, सरकारी निकायका प्रतिनिधि, प्रविधि विज्ञ, शिक्षाविद् तथा उद्यमीहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, इन्जिनियर उमेश कुमार गुप्ता, मणिराम गौतम, आदेश खड्का, आनन्दराज खनाल, अनिल कुमार दत्त, विक्रम श्रेष्ठ, वीरेन्द्र कुमार मिश्र, बृजेन्द्र रोचन जोशी, डा. भोजराज घिमिरे, डा. प्रदीप पौड्याल, गंगा सुब्बा, गौरव राज पाण्डे, गुणकेशरी प्रधान, मनोहर कुमार भट्टराई, नारायण तिमल्सिना, प्रा.डा. मनिष पोखरेल, प्रा.डा. सुवर्ण शाक्य, प्रा.डा. बालकृष्ण बल, रामप्रसाद रिमाल, रमेश शर्मा पौड्याल, शिशिर पछाई, सिमोली गौतम देसाई, स्नेहा भट्टराई, सुलभ तिमल्सिना, सुमन पोखरेल, विवेक राणा, बृजेश गुप्ता, सिर्जना झा, उत्सव चौहान, सुजल तामाङ, आयुष कुशवाहा, वर्षा श्रेष्ठ, रिबिका श्रेष्ठ तथा ओजस्वी शर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले उद्यमी, मेन्टर, सरकारी निकाय, निजी क्षेत्र तथा प्रविधि विज्ञहरूबीच सहकार्यको वातावरण निर्माण गर्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप मजबुत बनाउने विश्वास लिएको आयोजकले जनाएको छ ।
For more: Business Incubation Service 2083


