सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता
१३ जेठ, काठमाडौं।
काठमाडौं महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।
महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो ।
यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका हुन् । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार अरुको कुरा सुनेर केही बचतकर्ता आज आएनन् । उनीहरुलाई फिर्ता लिन भोलि पनि आग्रह गर्छौँ ।
सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । ठुला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरुलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा छौँ, उपाध्यक्ष लामाले बताए ।सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपियाँ र धेरै बचत गर्नेले ८० लाख रुपियाँसम्म रकम जम्मा गरेको लामाको भनाइ छ ।
सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । विभागका प्रमुख ध्रुवकुमार काफ्ले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबी सहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बिच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ । संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाउँछौँ ।’
यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ । वडा अध्यक्षलाई सम्बोधन गरेर निवेदन दिएपछि वडा महिला सञ्जालबाट छलफल र मेलमिलापको प्रक्रिया थालनी हुन्छ । सहकारीको चेक बाउन्स वा ऋणीको चेक बाउन्सका हकमा म्याद भित्र निवेदन प्राप्त हुन आए कारवाहीका विभागले शिफारिस गर्ने काफ्लेले जानकारी दिए ।
वडा स्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ । ऋणीले ऋण भुक्तानी नगरे कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाइन्छ ।
यस प्रक्रियाबाट एकमुष्ट वा किस्तामा बचत रकम र ऋण फिर्ता हुने गरेको छ । संस्था बन्द गरेकाको हकमा सम्पर्कमा नआउनेका हकमा एसएमएस र पत्रमार्फत सूचना दिने तथा कारवाहीका लागि पठाउने गरिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् । १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन् ।
For More:-Buddha Darshan Cooperative Refund


