भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
२० साउन, काठमाडौं।
चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहल, नेपाल विद्युत् प्राधिकरणको कार्यान्वयन र विभिन्न निकायबीचको समन्वयका कारण लामो समयदेखि निर्माणाधीन आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका हुन् ।
भरतपुरमा सञ्चालित पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ ।
भरतपुर महानगरपालिकाको ६ लेन सडक तथा बाइपास सडक आसपासका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण सञ्जाल विस्तार गरिएको छ । यसबाट करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोक, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्मका क्षेत्रमा भूमिगत प्रणालीमार्फत विद्युत् वितरण सुरु भइसकेको छ ।
त्यसैगरी आँपटारी–केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल–पुलचोक, आँपटारी–पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि नहर क्षेत्रसम्म भूमिगत केवल विस्तारको काम सम्पन्न भइसकेको छ । प्राधिकरणका अनुसार बाइपास सडकको दुवैतर्फ करिब ९ किलोमिटर, केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म ८ किलोमिटर ३३ केभी लाइन, आँपटारीदेखि पोखरा बसपार्कसम्म १.५ किलोमिटर ११ केभी लाइन तथा केन्द्रीय बस टर्मिनलदेखि मिलनचोकसम्म १.५ किलोमिटर ३३ केभी लाइन भूमिगत रूपमा विस्तार गरिएको छ ।
नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित परियोजनामा करिब ३ अर्ब रुपैयाँ लगानी भइरहेको छ । आगामी असोजभित्र सम्पूर्ण भूमिगत वितरण प्रणाली सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप विश्वसनीय हुने, हावाहुरी तथा प्राकृतिक प्रकोपबाट हुने क्षति कम हुने, खुला तारबाट हुने जोखिम घट्ने तथा सहरी सौन्दर्यमा सुधार आउने अपेक्षा गरिएको छ ।
यता, भरतपुरका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सञ्चालनमा आएको छ । गत असार २७ गतेदेखि नियमित रूपमा विद्युत् प्रवाह सुरु गरिएको उक्त लाइनमार्फत हाल करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि करिब १ हजार ६ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्ने क्षमता विकास हुनेछ ।
स्थानीय विवाद, वन क्षेत्रभित्र रूख कटान स्वीकृतिमा भएको ढिलाइ तथा प्राविधिक जटिलताका कारण वर्षौंदेखि प्रभावित बनेको आयोजनालाई गति दिन ऊर्जा मन्त्री श्रेष्ठले विशेष चासो दिएका थिए । असारको पहिलो साता मन्त्री श्रेष्ठ स्वयं आयोजना स्थल पुगेर स्थानीय तह, जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, सुरक्षा निकाय तथा स्थानीय समुदायबीच समन्वय र संवाद बढाउने पहल गरेका थिए । त्यसपछि निर्माणका अवरोध क्रमशः हट्दै आयोजना सञ्चालनको चरणमा पुगेको हो ।
पहिलो सर्किट सञ्चालनसँगै न्यू मस्र्याङ्दी (मार्कीचोक) २२० केभी सबस्टेशन राष्ट्रिय २२० केभी प्रसारण सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको छ । अब मस्र्याङ्दी र दोर्दी नदी बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् न्यू भरतपुर सबस्टेशन हुँदै हेटौंडा, ढल्केबरलगायत राष्ट्रिय २२० तथा ४०० केभी प्रसारण सञ्जालमा सहज रूपमा प्रवाह गर्न सकिने भएको छ ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार भूमिगत वितरण प्रणाली र मस्र्याङ्दी करिडोर प्रसारण लाइनको समानान्तर प्रगतिले भरतपुरको विद्युत् सेवामा मात्र सुधार ल्याउने छैन, राष्ट्रिय प्रसारण तथा वितरण प्रणालीलाई समेत थप आधुनिक, सुरक्षित र भरपर्दो बनाउनेछ । साथै बढ्दो जलविद्युत् उत्पादन व्यवस्थापन, आन्तरिक खपत विस्तार र भविष्यको क्षेत्रीय विद्युत् व्यापारका लागि समेत यी आयोजना महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।
For More: Bharatpur Underground Power Distribution

