कृषि विकास बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच द्विपक्षीय सम्झौता
२५ साउन, काठमाडौं।
कृषि विकास बैंक लिमिटेड (ADBL) र टोखा, काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल (GIH) बीच एक–अर्काका कर्मचारी, चिकित्सक तथा परिवारजनलाई स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रवन्धक सुशिल हुंमागाइ र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट मुख्य सञ्चालन अधिकृत (COO) कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, बरिष्ठ शाखा प्रमुख धु्रव पौडेल र ब्यवसाय अधिकृत मणिराज ढुंगाना तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा, अधिकृत माधव शर्माको समेत उपस्थीति रहेको थियो ।
सम्झौताले दुवै संस्थाबीचको संस्थागत सहकार्यलाई थप मजबुत बनाउँदै कर्मचारी कल्याण, सेवा प्रवाह तथा ग्राहक सुविधालाई प्राथमिकतामा राखेको छ । साथै, स्वास्थ्य र बैंकिङ क्षेत्रका दुई प्रतिष्ठित संस्थाबीचको सहकार्यले सेवा आदानप्रदान, संस्थागत सम्बन्ध विस्तार तथा दीर्घकालीन व्यावसायिक साझेदारीका लागि समेत आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवामा विशेष छुट तथा सुविधा
सम्झौता अनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार, विभिन्न परीक्षण (ल्याब, एक्स–रे, भिडियो एक्स–रे आदि), बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजहरूमा विशेष छुट उपलब्ध गराउनेछ ।
यसका साथै कर्मचारीहरूका लागि टेलि–कन्सल्टेसन, आपतकालीन उद्धार सुविधा (रोड तथा हेलि सर्भिस) तथा स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता र सहुलियत प्रदान गरिनेछ । यसबाट बैंकका कर्मचारी तथा पूर्व कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्नुका साथै कर्मचारी कल्याणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैंकिङ सेवामा विशेष छुट तथा सुविधा
त्यसैगरी, बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा सम्पूर्ण कर्मचारीहरूका लागि विभिन्न बैंकिङ सेवामा विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालका कर्मचारीहरूले बैंकका जुनसुकै शाखाबाट डिजिटल बैंकिङ, डेबिट/क्रेडिट कार्ड, लकर सुविधा तथा विभिन्न प्रकारका कर्जा—घर कर्जा, सवारी कर्जा, शिक्षा कर्जालगायतमा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा समेत विशेष सहुलियत उपलब्ध हुनेछ ।
यस सहकार्यबाट ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कर्मचारीले कृषि विकास बैंकका विविध वित्तीय सेवामा सहज पहुँच पाउनेछन् भने बैंकलाई समेत संस्थागत ग्राहकसँगको सम्बन्ध विस्तार तथा आफ्ना वित्तीय सेवाको पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । समग्रमा, सम्झौताले दुवै संस्थाका कर्मचारीलाई प्रत्यक्ष लाभ पु¥याउनुका साथै आपसी सेवा प्रवद्र्धन र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
दुवै संस्थाका कर्मचारीहरूले आ–आफ्नो संस्थाको आधिकारिक परिचयपत्र (Identity Card) प्रस्तुत गरी सम्झौता अनुसारका विशेष छुट तथा सुविधाहरू उपभोग गर्न सक्नेछन् ।
For More: ADBL Grande Hospital Bilateral Agreement

