कृषि विकास बैंकका सबै बैंकिङ्ग सेवा सञ्चालनमा
९ कात्तिक, काठमाडौं।
कृषि विकास बैंक लिमिटेड (ADBL) ले आफ्ना सम्पूर्ण बैंकिङ्ग सेवाहरू निर्वाध र निरन्तर रूपमा सञ्चालन भइरहेको जनाएको छ।
हालै विश्वव्यापी रूपमा वेब प्रविधि (PHP2 Shell) मा देखिएको साइबर सुरक्षा जोखिम (Cyber Security Risk) का बिच बैंकले आफ्ना प्रणालीहरूको तत्काल आवश्यक प्राविधिक जाँच गरी सेवा सुचारु राखिएको स्पष्ट पारेको छ।
बैंकका अनुसार आधिकारिक वेबसाइट लगायतका मुख्य डिजिटल प्लेटफर्महरू PHP को अपग्रेड गरिएको संस्करण (Upgraded Version) मा आधारित रहेकाले उक्त वैश्विक साइबर सुरक्षा जोखिमले बैंकको प्रणालीमा कुनै नकारात्मक असर पारेको छैन। यद्यपि, जोखिमका सुरुवाती चरणमा उच्च सतर्कता अपनाउँदै बैंकले केही अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको थियो।
यसैबिच, बैंकको ‘अनलाइन एकाउन्ट ओपन’ (Online Account Open) सेवालाई नयाँ संस्करणमा स्तरोन्नति (Version Upgrade) गर्ने प्रक्रिया जारी रहेको छ। यस सेवालाई अझ सुरक्षित, आधुनिक र परिस्कृत बनाएर निकट भविष्यमै पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ।
अनलाइन सेवा स्तरोन्नतिका क्रममा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै बैंकले यस अवधिमा ग्राहकहरूले देखाएको धैर्यता र निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ।
बैंकिङ्ग सेवा, डिजिटल प्लेटफर्म वा अन्य कुनै जिज्ञासा र सहायताका लागि बैंकको आधिकारिक गुनासो सुनुवाइ कक्षको मोबाइल नम्बर ९८५१३२८५६६ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
For More: ADBL Banking Services Operational

